काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक विवाद सतहमा आएको छ। सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पार्टी अध्यक्ष माधवकुमार नेपालबीचको आरोप–प्रत्यारोपले पार्टीलाई गहिरो संकटतर्फ धकेलेको छ।
पछिल्लो विवादको सुरुवात खनालले पार्टी विभाजनको औचित्यबारे सार्वजनिक रुपमा प्रश्न उठाएपछि भएको हो। हालै एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै खनालले नेकपा (एमाले) बाट टुटेर एकीकृत समाजवादी गठन गर्नुको ठोस कारण देखाउन नसकेकाे टिप्पणी गरेका थिए। उनले एमालेबाट विद्रोह–विभाजन गर्नु नै भूल भएको ठाउँमा आफू पुगेको स्वीकार गर्दै अभिव्यक्ति दिएका थिए ।
खनालको भनाइप्रति कडा असन्तुष्टि जनाउँदै अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालप्रति लक्षित गर्दै भने, “यदि यस्तै बोल्ने हो भने पार्टीमा बस्ने नैतिक आधार छैन, पार्टी छोडेर जाँदा हुन्छ।”
नेपालको यस्तो कडा प्रतिक्रिया आएपछि खनाल पनि चुप बसेनन्। उनले नेपालको अभिव्यक्तिलाई “अशोभनीय, गैरजिम्मेवार र तानाशाही सोच” भएको आरोप लगाए। उनले पार्टी नेतृत्व गर्ने व्यक्तिले यस्तो अमर्यादित भाषा नबोल्नुपर्ने बताए। साथै, असहमति भए पार्टी बैठक बोलाएर छलफल गर्न सकिने या व्यक्तिगत रूपमा कुरा गर्न सकिने विकल्प भएको उल्लेख गरे।
खनालले पार्टीभित्र आलोचना र बहसको वातावरण बन्द गर्न खोजिएकोप्रति आक्रोश व्यक्त गर्दै प्रश्न उठाए, “यदि विद्रोहको औचित्य पुष्टि भएन, जनताको काम गर्न सकिएन भने पार्टी छोड्नैपर्ने हो?” उनले पार्टी नेतृत्वलाई आत्मसमीक्षा गर्न र जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गरे।
यो आरोप–प्रत्यारोपले नेकपा (एकीकृत समाजवादी) को आन्तरिक एकता, नेतृत्वको प्रभावकारिता र दीर्घकालीन दिशाबारे गम्भीर प्रश्न खडा गरेको छ। अब पार्टी एकजुट भएर अघि बढ्न सक्ने कि अझै गहिरो विभाजनतर्फ जाने हो भन्ने प्रश्न सतहमा आएको छ।