काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको छ। बैठकका एजेन्डाहरू बुधबार नै तय भइसकेका छन्।
पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक परिस्थिति बारे जानकारी दिने छन्। साथै, पोखराबाट स्थगित भएको पहाडी जिल्ला अभियानलाई निरन्तरता दिने, केन्द्रीय समिति बैठकको मिति तय गर्ने र समाजवादी मोर्चाको सक्रियता र विस्तारबारे पनि छलफल हुने जनाइएको छ।
त्यस्तै, संगठन निर्माण, विकास र आन्तरिक एकता सुदृढीकरणसम्बन्धी विषयहरू पनि बैठकमा छलफल हुनेछन्।
हाल माओवादी केन्द्रभित्र आन्तरिक विवाद चुलिँदै गएको पृष्ठभूमिमा स्थायी समिति बैठक थप संवेदनशील बनेको छ। विशेषतः उपमहासचिव जनार्दन शर्मामाथि अनुशासनको कारबाही गर्न अध्यक्ष प्रचण्डमाथि पार्टीभित्रैबाट दबाब बढिरहेको छ।
शर्माले सार्वजनिक रूपमा नेतृत्वविरोधी अभिव्यक्ति दिँदै आएका छन्। उनले पार्टी नेतृत्वले नयाँ पुस्तालाई ठाउँ दिनुपर्ने र आफूहरूलाई ‘जा’ भन्दै धम्क्याउने गरेको आरोप पनि लगाउँदै आएका छन्।
गत ६ साउनमा शर्माले नेपालका अधिकांश कम्युनिस्ट पार्टीहरू सामन्ती प्रवृत्तिमा गइसकेको र मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरू ‘असुली’ धन्दामा लागेको तीव्र टिप्पणी गरेका थिए। त्यसयता पार्टी नेतृत्व उनीसँग असन्तुष्ट रहेको बुझिएको छ।
पछिल्लो पदाधिकारी बैठकमा समेत शर्मासम्बन्धी अनुशासनको विषय प्रवेश गरिसकेको छ। तर, थप छलफल र सम्भावित निर्णय स्थायी समिति बैठकमार्फत हुने बताइएको छ। यद्यपि, शर्मानिकट नेताहरूले उक्त विषय केन्द्रीय समिति हुँदै महाधिवेशनसम्म लम्ब्याउने रणनीति बनाएको चर्चा पनि चलिरहेको छ।