आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हामी अहिले सडक र सदन दुवै मोर्चामा सक्रिय छौं : रास्वपा

बिहिबार, साउन १५ २०८२

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाको नाममा भइरहेका भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दाका रूपमा स्थापित गर्न सफल भएको दाबी गरेको छ।

बुधबार भैरहवामा बसेको रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका मुख्य सचेतक सन्तोष परियारले यो विषयलाई रास्वपाले जनताको घरदैलोको मुद्दा बनाएको बताए।

उनले भिजिट भिसाको आवरणमा नेपालमा लामो समयदेखि संस्थागत रूपमा भइरहेका अवैध क्रियाकलापहरूलाई संसदमार्फत उजागर गरिएको उल्लेख गरे।

परियारले भने, “राज्यले नीति र संरचना बनाएको छ, तर त्यही संरचनाले आफ्नै नागरिकलाई दुःख दिएको छ। हामीले त्यो पीडालाई संसदमा उठाएर जनताको आवाज बनाएका छौं।”

उनका अनुसार, भिजिट भिसाको आडमा भइरहेको मानव बेचबिखन, तस्करी र भ्रष्टाचारको चक्रलाई रास्वपाले संसदमा गम्भीरताका साथ प्रस्तुत गरेको छ।

रास्वपाले संसदमा भ्रष्टाचारसम्बन्धी अन्य मुद्दाहरू पनि निरन्तर उठाइरहेको र अहिले पनि आन्दोलनरत अवस्थामा रहेको स्पष्ट पारेको छ।

“भ्रष्टाचारका अरू थुप्रै मुद्दा संसदभित्र उठाएका छौं। हामी अहिले पनि सडक र सदन दुवै मोर्चामा सक्रिय छौं,” परियारले बताए।

रास्वपाले नेपालमा गैरकानुनी ढंगले भिजिट भिसा प्रयोग गरी भइरहेका अपराधहरूलाई नीति निर्माण तहसम्म पुर्‍याउने अभियानमा आफू अगाडि रहेको बताएको छ।

रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालसहित चार जना सांसदले बैठक बस्नुअघि सभापति रवि लामिछानेसँग भेटेका थिए । पार्टी संसदीय दल बैठक बस्नुअघि उनीहरूले रविसँग भैरहवा कारागारमा पुगेर रविलाई भेटेका थिए ।

भेटघाटका क्रममा लामिछानेले पार्टीले चलाएको हस्ताक्षर अभियानमा उत्साहजनक बनेको भन्दै खुसी व्यक्त गरेको बताइएको छ । यसलाई थप जनमानसमा पुर्‍याउन र आफूमाथि भएको राजनीतिक प्रतिशोधबारे जनतालाई घरघरमा गएर बुझाउन नेताहरूलाई आग्रह गरेको भेटपछि रास्वपाका नेताहरुले बताएका छन् ।