काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको आजका लागि तय गरिएको शपथग्रहण समारोह अनिश्चितकालका लागि स्थगित गरिएको छ।
प्रदेश प्रमुखको स्वास्थ्यमा अचानक समस्या देखिएपछि आज बिहानै काठमाडौं जानुपरेको र त्यसकै कारण शपथग्रहण कार्यक्रम हालका लागि स्थगित गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ, “माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात समस्या आएकोले उपचार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा उहाँको निर्देशानुसार शपथग्रहण कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।”
बुधबार मुख्यमन्त्री बहादुरसिंह लामाले गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री पदमा नियुक्त गरेका थिए। नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण उनीहरूको शपथग्रहण बुधबार हुन सकेको थिएन, र बिहीबारका लागि सारिएको थियो।

कांग्रेसमा नेतृत्व विवाद
मुख्यमन्त्री लामा नेपाली कांग्रेसका संसदीय दलका नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भइसकेका छन्।
बानियाँले बहुमत सभासद् आफ्नो पक्षमा रहेको भन्दै लामामाथि राजीनामाको दबाब दिइरहेका छन्। तर, लामाले संसदीय दलको नेताबाट हटेको आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको दाबी गरेका छन्।
उहाँ संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्। उक्त धारामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने प्रावधान छ। लामाको तर्क छ— उक्त धारामा पार्टीको संसदीय दलको नेता हुनुपर्ने बाध्यता नरहेकोले आफूले पद छाड्नुपर्ने अवस्था छैन।
प्रदेश सरकारको आन्तरिक राजनीतिक द्वन्द्व र प्रदेश प्रमुखको स्वास्थ्य समस्याका कारण मन्त्रीहरूको शपथ अनिश्चितकालका लागि स्थगित हुनुले बागमतीको प्रशासनिक गतिविधिमा थप अन्योलता थपिएको छ।