नेपाल २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सन् २०२६ सम्ममा औपचारिक रूपमा विकासशील राष्ट्रमा स्तरोन्नति हुने सुनिश्चित भइसकेको घोषणा गरेका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो जानकारी दिएका हुन्।
प्रधानमन्त्रीका अनुसार नेपालले सन् २०१० बाटै योजनाबद्ध ढंगले स्तरोन्नतिको यात्रा प्रारम्भ गरेको थियो। प्रतिव्यक्ति आय, मानव विकास सूचकांक, र वातावरणीय जोखिमजस्ता सूचकहरूमा नेपालले उल्लेखनीय प्रगति गरेपछि विकासशील राष्ट्रमा स्तरोन्नति हुने सुनिश्चित भएको हो। अहिले नेपालको प्रतिव्यक्ति आय करिब १४ सय अमेरिकी डलर पुगेको उनको भनाइ थियो।
कोभिड–१९ को महामारीको कठिन समय पार गर्दा पनि नेपालको अर्थतन्त्रले देखाएको सुदृढ प्रतिरोध क्षमतालाई अन्तर्राष्ट्रिय समुदायले सकारात्मक रूपमा लिएको भन्दै प्रधानमन्त्री ओलीले अन्य मुलुकहरू ऋणात्मक वृद्धिमा रहँदा नेपालले अर्थतन्त्र स्थिर राख्न सफल भएको बताए।
स्तरोन्नतिको लाभ र चुनौती
प्रधानमन्त्री ओलीका अनुसार विकासशील राष्ट्रको मान्यतासँगै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ्ने, वैदेशिक लगानीको सम्भावना विस्तार हुने, तथा विकासका नयाँ अवसरहरू सृजना हुनेछन्। तर, यससँगै अति कम विकसित राष्ट्रको हैसियतले प्राप्त गर्दै आएको विभिन्न अन्तर्राष्ट्रिय सहुलियतहरूमा कटौती हुने सम्भावना पनि रहेको छ। स्वास्थ्य, शिक्षा र व्यापारका क्षेत्रहरूमा प्राप्त विशेष सुविधा घट्न सक्ने बताइएको छ।
उनले जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका जोखिमहरूले प्रगतिको गतिमा अवरोध ल्याउन सक्ने भन्दै नेपालले यो अवस्थालाई ध्यानमा राखेर कूटनीतिक पहल तीव्र बनाएको जानकारी दिए। राष्ट्रिय योजना आयोगमार्फत सहज स्थानान्तरण रणनीति कार्यान्वयनमा ल्याइएको र यसका लागि विभिन्न स्तरमा समितिहरू गठन गरिएका छन्।
कानुनी सुधार र अन्तर्राष्ट्रिय सहकार्य
प्रधानमन्त्रीका अनुसार स्तरोन्नतिलाई दिगो बनाउन केही कानुन खारेज, केही संशोधन र नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढाइएको छ। द्विपक्षीय तथा बहुपक्षीय सहकार्यमार्फत अन्तर्राष्ट्रिय सहयोग, लगानी प्रवाह र ऋण सुविधा जुटाउने प्रयास भइरहेको छ। बहुराष्ट्रिय कम्पनीहरूमार्फत मूल्य शृंखलाको विकासमा पनि जोड दिइएको उल्लेख गरे।
राष्ट्रियसभा सदस्यहरूको प्रशंसा
प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा विषय–केन्द्रित र स्तरीय बहस भएको भन्दै सदस्यहरूको प्रशंसा गरे। उनले समय सीमाभित्र, तयारीसहित र गहिरो रूपमा प्रस्तुत भएको छलफलले सभाको गरिमा बढाएको टिप्पणी गरे।
साझा प्रयासको आह्वान
प्रधानमन्त्री ओलीले प्रतिस्पर्धा चुनावमा सीमित राखेर विकासका काममा साझा प्रयास गर्न सबै दललाई आह्वान गरे। उनले देशले आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर लगानीमैत्री वातावरण बनाउन सक्ने विश्वास व्यक्त गर्दै विश्वास, उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने धारणा राखे । “प्रतिस्पर्धा चुनावमा गरौँ, तर विकासमा साझा प्रयास आवश्यक छ,” उनले भने, “विश्वास बढाएर मात्र हामी उत्पादनमा वृद्धि गर्न सक्छौँ, र त्यही हाम्रो समृद्धिको आधार हो।”