आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राजेश अहिराजविरुद्ध मुद्दामा जाहेरवाला युवतीको बयान: डेरामा आएर बलात्कार गरे

बुधबार, साउन १४ २०८२

काठमाडौँ । बलात्कारको अभियोगमा पक्राउ परेका मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

साउन ४ मा पक्राउ परेका पूर्वप्रदेश प्रमुखसँग अनुसन्धान पूरा भए लगतै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मङ्गलबार मुद्दा दर्ता गरेको जनाएको छ ।

अहिराजले एक युवतीलाई बलात्कार गरेको आरोप छ । पीडित युवतीले आफूलाई ४ जेठ २०८१ मा काठमाडौँको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

२०८१ जेठ ४ गते आफू डेरामा बसिरहेका बेला अहिराजले कोही नभएको मौका छोपेर मुख थुनेर आफूलाई जबर्जस्ती करणी गरेको आरोप पीडित युवतीको छ । तर, त्यसलाई अहिराजले खण्डन गर्दै विदेश जाने भनेर युवतीले आफूसँग पटकपटक पैसा मागेको र उक्त रकम नदिएपछि आफूविरुद्ध षडयन्त्रको रूपमा जबर्जस्ती करणी मुद्दामा जाहेरी दिएको सरकारी वकिलसँगको बयानमा उल्लेख गरेका छन् ।

बयानमा अहिराजले २०८१ भदौ १८ गते युवतीले आफूलाई ह्वाट्सएपमा लक्ष्मी सनराइज बैंकको खाता पठाएको र २३ गते आफूले तीन लाख दिएपछि बैंकमा जम्मा गरेर स्लिप देखाई गाडीमा बसेर होस्टलमा गएको उल्लेख गरेका छन् । अहिराजले बयान दिए अनुसार उनीसँग युवती, उनकी आमा र भाइले पटकपटक पैसा दिन धम्की दिएका थिए । शुरूमा ६० लाखदेखि बार्गेनिङ गरेर अन्तिममा २० लाखसम्म दिए कतै उजुरबाजुर नगर्ने भनेर युवती र उनकी आमाले आफूलाई धम्की दिएको कुरा अहिराजले बयानमा खुलाएका छन् ।

पीडित युवतीले भने आफूलाई बलात्कार गर्दा अहिराजले ‘नेपालमा पैसा र पावर हुनेकै कानून छ, तँ मधेशी परिवारको छोरी होस्, यो कुरा बाहिर आयो भने मधेशी समाजले बहिष्कार गर्छ, तँ र तेरो परिवार कहीँ कतै मुख देखाउन लायक हुनेछैन’ भन्दै धम्की दिएको बयानमा उल्लेख गरेकी छिन् ।