बागमती । नेपाली कांग्रेस बागमती प्रदेशमा बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ ।
संसदीय दलका नेता चयन गर्न आज बिहान १०:०० देखि ११:०० बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न २:०० देखि ३:०० बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले राससलाई जानकारी दिए ।
मंगलबार बसेको बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदको मत परेको हो । प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन् ।
अविश्वासको प्रस्ताव पारित भएसँगै मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन्। यससँगै अब बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता बनेर इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
प्रदेश सांसद रहेका बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति पनि हुन् । दलका नेता लामाविरुद्ध बानियाँ नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो । कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो ।