काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको साख पुन माथि उठाउन गम्भीर आत्मसमिक्षा आवश्यक रहेको बताएका छन् ।
मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपमहासचिव शर्माले माओवादी केन्द्रबारे उठेको भ्रम र तथ्यहरुलाई गहिरो गरी बुझ्न आग्रह समेत गरे।
विशेष महाधिवेशनले पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, साङ्गठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्य योजना तयार पार्न पार्टीको पुनर्गठन गर्नुपर्ने उनले सुझाव दिएका छन् ।
गत वर्ष सबै प्रदेशस्तरीय परामर्श बैठकपश्चात् केन्द्रीय समितिमा भएको बहस र निर्णयअनुसार असारदेखि प्रारम्भ भई मंसिर महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय भइसकेको सन्दर्भमा शर्माले एजेन्डा केन्द्रित बहसमा जोड दिएका हुन् ।
उनका अनुसार, विशेष महाधिवेशन पार्टी पुनर्गठन, सुदृढीकरण र व्यवस्थापनका लागि निर्णायक मोड सावित हुनेछ। विशेषतः हुलाकी राजमार्ग र पुष्पलाल (मध्यपहाडी) राजमार्ग अभियानबाट आर्जिएको जनसम्पर्क र उर्जालाई गम्भीर आत्मसमीक्षा गर्दै प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिए।
शर्माले फेसबुकमार्फत लेख्दै भनेका छन, ‘देश, जनता र सम्पूर्ण राजनीतिक दलहरू गम्भीर संकटबाट गुज्रिरहेका छन्। यस संकटको समाधान संविधान संशोधन, अर्थतन्त्रको पुनर्संरचना, र पार्टीको पुनस्गठन मार्फत सम्भव छ।’
उनका अनुसार संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै उत्पादन, वितरण र समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्नुपर्ने आवश्यकता छ। यस्तो व्यवस्थाले सङ्कटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनुका साथै आत्मनिर्भर तथा सामाजिक न्याययुक्त समाज निर्माणमा योगदान पुर्याउने उनको विश्वास छ।
शर्माले देशमा बढ्दो कुशासन, कानुन निर्माणमा चलखेल, भ्रष्टाचारको बढ्दो प्रवृत्ति र जनसरोकारका विषयहरूमा देखिएको बेवास्ताले जनताको निराशा बढाएको उल्लेख गर्दै समस्याको पहिचान र समाधानमै केन्द्रीत हुनुपर्ने तर्क गरेका छन्।
संविधान संशोधनको सन्दर्भमा उनले शासकीय स्वरूप, निर्वाचन प्रणाली, पहिचान, र आर्थिक क्षेत्रको पुनर्संरचना लगायतका विषयहरूलाई बहसको केन्द्र बनाउँदै राष्ट्रलाई एकताबद्ध गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।