न्युयोर्क । ‘नेपाली ग्लोबल’ नामक संस्थाले आइतबार साँझ एक भव्य समारोहका बीच समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका नौ जना विशिष्ट व्यक्तित्व र एक संस्थालाई ‘ग्लोबल हिरो अवार्ड’ द्वारा सम्मानित गरेको छ।
उक्त अवार्ड प्राप्त गर्नेहरूमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही, लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा, गायक सञ्जय श्रेष्ठ, महिला फुटबलर सावित्रा भण्डारी (साम्बा), लेखक तथा समाजसेवी पासाङ शेर्पा, अधिवक्ता केशवराज सेडाईं, उद्यमी पासाङ लामा, पत्रकार ऋषि धमला तथा न्यूयोर्कस्थित नेपाली समुदायको हकअधिकारका लागि क्रियाशील संस्था ‘अधिकार’ छन्।
आयोजकका अनुसार नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूले गरेका योगदानको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो।
अवार्ड समारोहलाई सम्बोधन गर्दै कुलमान घिसिङले १८ घण्टासम्म लोडशेडिङ भएको समय सम्झिँदै सबैको सहयोगले नेपाललाई लोडशेडिङमुक्त बनाइएको बताए।
उनले भने, “जहाँ बत्ती थिएन, त्यहाँ पनि पुर्यायौं। अहिले हरेक गाउँमा उज्यालो पुगेको छ। प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौं। व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ।” उनले अब ‘उज्यालो नेपाल अभियान’मार्फत सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र आशा जगाउने काममा लाग्ने बताए।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नेपाल स्वर्गजस्तो देश भए पनि आज विश्वकै गरीब राष्ट्रमध्ये एक भएकोमा चिन्ता व्यक्त गर्दै उक्त अवस्थाबाट देशलाई माथि उठाउनु पर्ने बताए। उनले भने, “तपाईंहरूको सीप र क्षमतालाई शक्तिमा बदल्नुपर्छ। नेपाल फर्कने वातावरण हामी बनाउँछौं।” उनले वंशजका आधारमा नागरिकता खारेज गर्न नपाइने उल्लेख गर्दै देशको निर्माणमा सबैलाई आत्मसाक्षी राखेर जुट्न आह्वान गरे।
गायिका आनी छोइङ डोल्माले ‘नेपाली ग्लोबल’ संस्थाले देश–विदेश जहाँ बसेका नेपालीलाई सम्मान गरेर हौसला बढाएको बताइन्। मातृभूमिको सेवा र नेपालको उन्नतिमा जहाँ रहे पनि योगदान दिन उनले सबै नेपालीलाई आग्रह गरिन्।
अवार्ड कार्यक्रम ‘नेपाली ग्लोबल’का अध्यक्ष अमृत लामा, उपाध्यक्ष सुनिता खत्रीलगायतका पदाधिकारीले सञ्चालन गरेका थिए। कार्यक्रममा आकर्षक सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।
‘नेपाली ग्लोबल’ संस्थाले धर्म, जाति, वर्ग र राजनीतिक विचारभन्दा माथि उठेर संसारभर रहेका नेपालीहरूलाई एकजुट गर्ने उद्देश्यले संस्था स्थापना गरिएको जनाएको छ।