काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’को व्यवस्थालाई लिएर पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रश्न उठाएका छन्।
शनिबार प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै कुलिङ अफ पिरियडबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले सचिवसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई नै प्रतिप्रश्न गरेका हुन्।
भट्टराईले तीनवटा मुख्य बुँदा उल्लेख गर्दै प्रचण्डको ध्यानाकर्षण गराएका छन् । उनले प्रचण्ड प्रधानमन्त्री भएकै बेला २०८० फागुन ११ गते मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेस गरेको मूल विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था नै नरहेको तथ्य उजागर गरेका छन्।
उनले भनेका छन्, ‘यसले स्पष्ट गर्दछ कि तपाईँ कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ?’ उनले यो विषय सांसदहरूको संशोधन प्रस्तावपछि मात्रै बहसमा आएको हेक्का राख्न पनि प्रचण्डलाई आग्रह गरेका छन्।
प्रचण्ड प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम सदस्य रहेको भट्टराईले स्मरणसमेत गराएका छन्।
समितिले विधेयकमा कुलिङ अफ पिरियड राख्ने निर्णय गरे पनि समितिको प्रतिवेदन संसदमा पेस हुँदा सो व्यवस्थालाई तलमाथि गरिएको भन्दै उनले प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका छन्।
उनले लेखेका छन्, ‘ प्रतिनिधिसभाको राज्य ब्यबस्थ तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राख़्ने निर्णय गरेको थियो । तर समितिको प्रतिबेदन संसदमा पेश गर्दा यो ब्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठ्छ होईंन र ? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की ? आफनै बोली आफैँलाई गलापासो नहोस !’