आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रश्न उठाउनेहरुलाई ‘विभाजनकारी’ भन्दै लगाइने आरोपको प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गराैँ : सुदन किराती

आइतबार, साउन ११ २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच पछिल्लो समय चलिरहेको नोकझोंकका बीच अर्का नेता सुदन किरातीले मुख खोलेका छन् ।

किरातीले पार्टीभित्र आलोचनात्मक प्रश्न उठाउनेहरुलाई ‘विभाजनकारी’ भन्दै लगाइने आरोपको प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने बताएका छन्।

किरातीले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै केन्द्रीय समितिको निर्णय कार्यान्वयनका लागि ४ सर्त दृढतापूर्वक लागू गर्न आव्हान गरेका छन् ।

उनको यो अभिव्यक्ति पछिल्लो समय सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) भित्र देखा परेका अन्तरविरोध र असहमतिको पृष्ठभूमिमा आएको हो। केही नेताहरूले आन्तरिक निर्णयमा असन्तुष्टि जनाइरहेका बेला किरातीको धारणा सार्वजनिक भएको छ।

उनले भनेका छन्:

पछिल्लो पार्टी केन्द्रीय समितीको निर्णयको स्प्रीट कार्यन्वयन गर्न निम्न सर्तहरु दृढता पूर्वक लागु गरौँ ।
सर्तहरु:-
१.पार्टी बलियो बनाउन सुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तिव्र बनाउ ।
२. शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ ।
३. प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ ।
४. नेतृत्वको विचार र योगदानलाई जुग-जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गरौँ ।