आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

देशको समग्र अवस्था संकटपूर्ण बन्दै गएको नेता खनालको टिप्पणी

भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न नसके राष्ट्रियतामाथि अर्को हमला हुने जिकिर

आइतबार, साउन ११ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले शनिबार एक सार्वजनिक कार्यक्रममा बोल्दै “सुपुर्दगी सन्धी” को विषय उठाएका छन्।

उनले राष्ट्रको सार्वभौमिकता, सुरक्षाको सुनिश्चितता, र कानुनी प्रक्रियाको सम्मानका आधारमा कुनै पनि सुपुर्दगी सन्धि गरिनु पर्ने धारणा राखेका छन्। उनले सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने जिकिर समेत गरे ।

कोशी उच्चबाँध बाँधिने कुरा आइरहेको भन्दै यसबारे पनि सरकारले नागरिकहरुलाई जानकारी गराउनुपर्ने बताए । यो नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन भन्नेकुरा स्पष्ट पार्न जरुरी रहेको बताए । नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्नेकुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरु बाँधिनुपर्ने उनको भनाइ छ ।

खनालले स्पष्ट रूपमा भने, “नेपाल कुनै पनि विदेशी राष्ट्रसँग सुपुर्दगी सन्धि गर्दा सावधानी अपनाउनुपर्छ। यसले देशको स्वतन्त्रता र नागरिकको मौलिक अधिकारमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।”

उनको भनाइ अनुसार, सुपुर्दगी सन्धि गर्दा दुई देशबीचको सम्बन्ध, आपराधिक प्रकृति, मानवअधिकार, र निष्पक्ष कानुनी प्रक्रिया जस्ता कुरामा विशेष ध्यान दिनुपर्छ। उनले विगतमा भारतसँग प्रस्तावित सुपुर्दगी सन्धीको विवादलाई पनि स्मरण गरे।

खनालको यस्तो अभिव्यक्ति पछिल्लो समय नेपालले छिमेकी राष्ट्रहरूसँग गरिरहेका कूटनीतिक वार्तालाई सन्दर्भ बनाउँदै आएको देखिएको छ। चीन वा भारतसँग सम्भावित कानुनी सहकार्यका विषयमा सञ्चारमाध्यममा आएका रिपोर्टहरूलाई पनि उनले सम्बोधन गरेको बुझिएको छ।

नेता खनालले उठाएको यो विषय अहिलेको परिप्रेक्ष्यमा गम्भीर र सान्दर्भिक छ। सुपुर्दगी सन्धिले राष्ट्रिय हितसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले यसबारेमा व्यापक बहस र सहमति आवश्यक छ।

खनालको चेतावनीले सरकारलाई सुपुर्दगी सन्धिको विषयमा थप सतर्क बनाउने अपेक्षा गरिएको छ।