आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बहादुरसिंहको बहादुरी, आफ्नै पार्टीका चार मन्त्रीलाई गरिदिए बर्खास्त

शनिबार, साउन १० २०८२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसका चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटनमन्त्री विमल ठकुरी र सहकारीमन्त्री मधुकुमार श्रेष्ठलाई मुख्यमन्त्री लामाले बर्खास्त गरेका हुन् ।

यी चारै जनाले मन्त्रीहरूले शुक्रबार दिउँसो राजीनामा बुझाएका थिए । उनीहरुलाई शुक्रबार बेलुका नै मख्यमन्त्रीले बर्खास्त गरेका हुन् ।

उनीहरुले प्रत्यक्ष रूपमा भेट नभएको भन्दै मुख्यमन्त्रीसँग ह्वाट्सएपमार्फत राजीनामा बुझाएका थिए । मुख्यमन्त्री लामाले शुक्रबार बेलुका नै ती मन्त्रीहरूलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेको कांग्रेसको बागमती प्रदेश दल उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

यो कदम मुख्यमन्त्री लामालाई काँग्रेस संसदीय दलको नेताबाट हटाउने योजनाअन्तर्गत चालिएको हो । काँग्रेस संसदीय दलका ३७ मध्ये २१ सांसदले लामाविरुद्ध अविश्वासको प्रश्तावमा हस्ताक्षर गरेका छन् । बाँकी केही सांसद पनि नेतृत्व परिवर्तनको पक्षमा रहेको बताइए पनि, हालसम्म औपचारिक समर्थन सार्वजनिक भएको छैन ।

प्रदेश सभापति तथा वरिष्ठ नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने दौडमा अगाडि देखिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर  देउवाले लामालाई स्पष्ट रूपमा राजीनामा दिन भनेपछि बानियाँ पक्ष थप सक्रिय भएको हो । तर लामा भने अझै पद नछोड्ने अडानमै छन् । यो सबैको जरो भने बजेट विवाद हो ।

आव २०८२-८३ को बजेटमा काँग्रेसभित्रै गम्भीर असहमति चुलिँदा सत्ता संकटको रूप लिएको हो । १३ पुस २०७९ मा भएको संसदीय दलको चुनावमा लामा ५ मतले बानियाँलाई हराएर नेता बनेका थिए। अहिले त्यही बानियाँ नेतृत्व परिवर्तनको मुहान बन्न लागेका छन् ।

काँग्रेसभित्रको यो शक्ति संघर्षले बागमती प्रदेशमा सरकारको स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ । अबको खेल लामाको राजीनामा वा विश्वासको मत गुम्ने प्रष्ट देखिन्छ ।