बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राजनीतिमा विद्या

सोमबार, असार १६ २०८२

नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा फर्किने घोषणाको अर्थ बहुआयामिक छ। उनी लामो समयसम्म एमालेको केन्द्रीय नेतृत्वमा रहँदै महिला नेतृका रूपमा स्थापित भइन्। राष्ट्रपति भएर पार्टी राजनीतिबाट अलग बसेकी विद्या भण्डारी फेरि सक्रिय राजनीति गर्ने घोषणाले नेपालका सत्तारुढ तथा प्रतिपक्ष दलहरूमा हलचल ल्याउन सक्छ। त्यसअघि नेकपा एमालेभित्र नै ल्याउने संकेत देखिएको छ।

विद्या भण्डारीको पुनरागमन पहिलो त एमालेभित्रै नेतृत्वको शक्ति सन्तुलनमा प्रभाव पार्न सक्छ। केपी शर्मा ओलीपछिको पुस्तामा नेतृत्वको प्रतिस्पर्धा चलिरहेका बेला भण्डारीको पुनरागमनले नयाँ गुट निर्माण, महिला नेतृत्त्वको उत्साह र संगठनमा नयाँ उत्साह ल्याउन सक्छ। खासगरी, एमालेभित्र महिला नेतृहरूको उत्प्रेरणा र सामाजिक जनाधार भएका क्षेत्रहरूमा उनको प्रभाव अझै बाँकी छ। दोस्रो, राष्ट्रिय राजनीतिमा उनको प्रवेशले महिला नेतृत्त्वको पक्षमा बहस पुनः जीवित हुन सक्छ। लामो समयपछि एक महिला नेतृ, जसले राष्ट्रपतिको जस्तो सम्मानित पद सम्हालेकी थिइन्, प्रत्यक्ष राजनीतिमा आउँदा महिला सशक्तीकरणको सन्देश दिन सक्छ। यद्यपि, राष्ट्रपतिका रूपमा विवादास्पद भूमिकाका कारण उनको निष्पक्षता र भूमिकाप्रति केही आलोचना पनि छ।

यसर्थ, विद्या भण्डारीको पुनरागमनले नेपालका वामपन्थी दलहरूबीच नयाँ समीकरण बनाउन सक्छ। नेकपा एकता, वाम गठबन्धन, वा वैकल्पिक राजनीतिक मोर्चाको सम्भावनामा पनि उनी एक धुरी बन्न सक्छिन्। यसरी हेर्दा विद्या भण्डारीको राजनीतिमा पुनः प्रवेश केवल व्यक्तिगत चाहना होइन, नेपाली राजनीतिमा नयाँ समीकरण र शक्ति सन्तुलनको संकेतसमेत हो।