काठमाडौं जेठ, १०–
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जना पक्राउ परेका छन् । प्रहरीले युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जनालाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जनाएका छन् । दुई वटा व्रिफ केशमा नोट बरामद भएको नोट अहिले गन्ने काम भैरहेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । कतार एयरवेजमार्फत युनुससहित ३ जना काठमाडौं आएका थिए ।
नसरुद्दित उनीहरुलाई रिसिभ गर्न पुगेका थिए । युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।
केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । पूर्व मन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक थिए । उनकी बहिनी उषाकिरण पहिलो संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीतर्फ समानुपातिक सभासद थिइन् ।
पछिल्लो समय एसएसपी सन्दिप भण्डारीले विमानस्थलको नेतृत्व सम्हालेपछि विमानस्थलमा उल्लेख्य प्रगति देखिएको छ । विमानस्थलको सुरक्षा अवस्थादेखि अवैध रुपमा भित्रिने सामाग्रीहरुमा बरामद गर्ने प्रहरी सक्रियता निकै बढेको देखिएको छ । प्रहरीले विमानस्थलको व्यवस्थापन र हरेक अवस्था चुस्त दुरुस्त राख्न सफल भएको यात्रुहरुकै मुखबाट सुनिन्छ । केही समय अघि मात्रै विमानस्थल प्रहरीले अमेरिकी डलर एक लाख सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
्नेपाल एयरलाइन्सको उडानबाट भारतको मुम्बै जान लागेकी यात्रु वंदना घनश्याम सोनीलाई उक्त डलरसहित पक्राउ गरिएको हो । विशेष सूचनाको आधारमा चेकजाँच गर्दा लुकाईछिपाई बाहिरी मूलुक लैजान लागेको अवस्थामा अमेरिकी डलर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एसएसपी भण्डारीले विमानस्थलको सुरक्षा व्यवस्था चुस्त राख्न र विमानस्थलमा हुने विभिन्न अवैध कारोबार निर्मुल गर्न प्रहरी सक्रिय भएर लाग्ने बताउदै आएका छन् । उनले विमानस्थलको सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिन प्रहरी अहोरात्र खटिईरहने जानकारी गराए । उनले आफ्नो कार्यकालमा थुप्रै महत्वपूर्ण काम गर्न समेत सफल भएका छन् ।
आजको ठुलो मात्रामा नक्कली भारतीय नोट बरामद पनि एसएसपी भण्डारीकै सक्रियताले सम्भव भएको हो ।