बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खुला सिमाना अवसर र चुनौती

बुधबार, जेष्ठ १४ २०८२

नेपाल भूपरिवेष्ठित मुलुक हो । यसको चारैतिर जमिनकै भागले घेरेको छ । हामी यस्तो खुला सिमानाका कारण बढी आक्रान्त भने भारततिरबाट हुँदै आएका छौं । नेपालको उत्तरमा हिमालय पर्वत पूर्वपश्चिम फैलिएको छ जसले गर्दा यो एक प्रकारले प्राकृतिक रूपमै बार वा पर्खाल जस्तो भएर रहेको छ । शताब्दियौंदेखि हामी खुला सिमानाका कारण अनेकौं समस्याहरूको सामना गर्न बाध्य छौं । खुला सिमाना भएकै कारण विशेषगरी विभिन्न आपराधिक कार्यबाट हामी आक्रान्त बन्दै आइरहेका छौं ।

बीचबीचमा भएका भञ्ज्याङ तथा नाकाहरूमा दुई देशबीचका प्रशासनिक कार्यालय रहेका छन् जसले खुला रूपमा आउजाउ र मालसामान ओसारपसारमा रोक लगाउने गर्छ । परम्परागत रूपमा नेपाल र तिब्बतबीचको व्यापारिक सम्बन्ध कायम थियो र बेला-बेलामा केही व्यापारिक झमेला आइपर्ने गरे पनि तिनलाई दुई देशबीचको कूटनीतिक प्रयासबाट सुल्झाउने गरिन्थ्यो । उत्तरतिर यति ठूलो प्राकृतिक पर्खाल हिमाल भएको भएपनि बेला-बेलामा चीनबाट ठूलो परिमाणको सुनलगायत अन्य विभिन्न अवैध र निषेध गरिएका चीजवस्तुहरू लाने-ल्याउने गरेको समाचार आउने गर्छन् ।

तर, यसभन्दा पनि दक्षिणी छिमेकी देश भारत र हाम्रो देशबीच तीनतिरबाट खुला सिमाना छ । यसलाई प्राकृतिक रूपमा उत्तरी छिमेकी देश चीन-नेपालबीचको जस्तो कुनै प्राकृतिक सिमानाले छुट्याएको छैन । पश्चिममा महाकाली नदी र पूर्वमा मेची नदीले सीमानदीको काम गरेको भए तापनि दक्षिणतर्फ पूर्व-मेचीदेखि पश्चिममा महाकालीसम्म खुला सिमाना रहेको छ । सम्झौताका आधारमा तयार गरिएको दशगजा भनिने कृत्रिम सिमाना रहेको छ । जसले गर्दा ठाउँठाउँमा नाकाहरू कायम गरेर त्यहाँ भन्सारलगायत प्रहरी चेकपोष्टहरू रहने भए पनि सीमापार आपराधिक घटना हुने गरेका छन् ।

खुला सिमाना अभिशाप र चुनौतीमात्र होइन दुवै देशका जनतालाई जीवन धान्न सहज बनाउन यसले सघाउ पुर्‍याइरहेको हुन्छ तर आपराधिक मनोवृत्तिका व्यक्तिका कारण यो चुनौती पनि बन्ने गरेको छ । अपराध गरेर अर्को देशमा जाने र लुक्ने, एक देशबाट निषेधित मालसामान अर्को देशसम्म पुर्‍याउने, उपभोग्य वस्तुहरूमा पनि तोकिएको परिणामभन्दा बढी परिमाणमा सामान ओसारपसार गरेर कालोबजारी गर्ने लगायत अनेकौं समस्या खुला सिमानाका कारण सिर्जना भइरहेका छन् । सीमाक्षेत्रका मानिसहरूले दिनभरि सिमानाबाट वारिपारि आउजाउ गरिरहने र थोरै-थोरै परिणाममा सामानहरू ल्याउने लाने गरेर दिनभरिमा ठूलो परिमाणको ओसारपसार गर्ने गरेका अनेकौं उदाहरण छन् ।

यस्तो खुला सिमाना भएका कराण दुई देशबीच राहदानी र प्रवेशाज्ञाको व्यवस्था गर्न सम्भव हुँदैन । नेपाल र भारत त झन् समान संस्कृति, सामाजिक जीवन, आर्थिक समानता भएका छिमेकी देशहरू हुन् । वारि र पारिका मानिसबीच वैवाहिकलगायत सम्बन्ध हुँदै आएका छन् । परम्परादेखि हुँदै आएका यस्ता सम्बन्धलाई रोटी र बेटीको सम्बन्धका रूपमा हेर्ने गरिएको छ । त्यसकारण नेपाल र भारतबीचको सम्बन्ध उत्तरी छिमेकी देश चीनसँगको सम्बन्ध जस्तो होइन । भाषा, धर्म, संस्कार, संस्कृतिसमेत समान भएको हुँदा त्यस रूपमा पनि नेपाल भारतको सम्बन्ध विकसित बन्दै आएको छ । तर, हामीले भने यसलाई सही रूपमा सदुपयोग गर्नुभन्दा पनि यसको दुरुपयोग गर्दै आएका छौं जसले गर्दा हाम्रा लागि यो चुनौतीका रूपमा देखा पर्दै आएको छ ।

तस्करी गर्नेहरूबाट तस्करी नियन्त्रणको जिम्मेवारीमा बसेका अधिकारीहरूकै हत्या भएकादेखि यस्ता अधिकारी कर्मचारीसँगैको मिलेमतोमा तस्करी हुँदैआएका घटना अनगिन्ती छन् । भन्सार नतिरी सामानहरू चोरबाटोबाट लाने ल्याउने जस्ता अनेकौं काम हुने गर्छन् । हामीले खुला सिमानाको महत्व नबुझेर त्यसको दुरुपयोग गरेको हौं । हाम्रो जस्तो खुला सिमाना र भूपरिवेष्टित स्वरूप भएका अरू देशहरू विश्वमा धेरै छन् । यस्ता केही पश्चिमा देशहरूमा त्यसबाट कुनै फरक परेको छैन । त्यहाँका मानिसहरूमा अधिकार र कर्तव्यको ख्याल छ र तिनले मानवअधिकारको सम्मान गर्दै आएका छन् । हाम्रो छिमेकी देशबाट भने हामीले त्यस प्रकारको सम्मान पाउने गरेका छैनौं । छिमेकीको मिचाहा प्रवृत्ति पनि हाम्रा लागि चुनौतीपूर्ण बनेको छ ।

साना भूपरवेष्टित राष्ट्रहरूलाई जोडिएका देशहरूले नजिकको समुद्रसम्म बाटो दिनुपर्नेलगायत अन्तर्राष्ट्रिय नियम भए पनि त्यस्ता अधिकार हामीले सहज रूपमा पाइरहेका छैनौं । यस्ता अनेकौं कारण छन् जसले खुला सिमानालाई चुनौतीपूर्ण बनाउँदै आएका छन् । यथार्थमा खुला सिमाना चुनौतीपूर्णमात्र होइन यो एक प्रकारले दुई देशबीचको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीयलगायत सम्बन्ध विस्तार गर्नका लागि वरदान पनि हो तर हाम्रो आफ्नै कारण छिमेकीले हामीलाई हेर्ने, गर्ने व्यवहारसमेतले गर्दा हाम्रो खुला सिमाना हाम्रा लागि चुनौतीपूर्ण र अभिशाप पूर्णमात्र बन्दै आएको छ । यसलाई चुनौतीका रूपमा मात्र होइन वरदान पनि बनाएर विकसित गर्न दुई देशबीचको सम्बन्धलाई सौहाद्र्रपूर्ण बनाउने र यसका लागि कूटनीतिक रूपमै पहल गर्नुपर्ने हुन्छ । यसका लागि दुवै देशको ध्यान पुग्नु जरुरी छ ।
खुल्ला सीमालाई व्यवस्थित र सुरक्षित बनाउन दुवै देशले सहकार्य गर्न आवश्यक छ। सीमामा कडाइ गर्नुका साथै दुवै देशले सूचना आदानप्रदान र संयुक्त गस्तीलाई बढाउनुपर्छ।

खुल्ला सीमा दुई देशको सम्बन्धको महत्वपूर्ण पक्ष भए पनि यसलाई सुरक्षित र व्यवस्थित राख्नु दुवै देशको दायित्व हो।