बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

घुस लिएको अभियोग लागेका अख्तियारका पूर्वआयुक्त पाठक अदालतमा हाजिर

बुधबार, जेष्ठ १ २०७६

काठमाडौं जेठ, १–
 घुस लिएको अभियोग लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्। अहिले उनको  विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिका जोशी र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलिरहेको छ । 

अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार पाठक अदालतले उपस्थित हुन पठाएको म्यादभित्रै उपस्थित भएका हुन्। उनी बिहान ९ बजे विशेष अदालत गएका थिए।

७८ लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै चैत १२ गते मुद्दा दायर गरेको थियो।

आयोगले घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको छ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र त्यसको ९ज० अनुसार कारबाही माग गरिएको छ। त्यसमा दफा २४ अनुसार थप सजाय माग गरिएको छ। कसुर प्रमाणीत भए यी दुवै कानुन अनुसार  पाठकले  ९ देखि ११ वर्षसम्म कैद भुक्तान र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ।

न्यौपानेले भने ७८ लाख जरिवाना र ६ देखि ८ बर्षसम्म कैद सजाय भोग्नुपर्ने छ। पाठकले घूस लिएको समाचार बाहिरिएपछि उनले पदबाट राजिनामा दिएका थिए।