काठमाडौं । भारतले पाकिस्तानमा गएराति मिसाइल आक्रमण गरेको छ ।
भारतीय सेनाका अनुसार पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो ।
सो आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको भारतीय मिडियाले उल्ल्लेख गरेका छन् ।
यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।
भारत सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियो ।’
भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको भारतीय अनलाइन पत्रिका ‘द भाष्कर’ले उल्लेख गरेको छ ।
यता पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । समाचार एजेन्सी रोयटर्स र एएफपीले भारतीय सेनाको हवला दिंदै कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन् ।
पाकिस्तानले भारतबाट तीन मिसाइलहरू प्रहार भएको बताएको छ भने चाँडै यसको जवाफ दिने प्रतिबद्धता पनि जनाएको छ । भारतीय सञ्चारमाध्यमले पाकिस्तानका ९ वटा आतंकवादी अड्डा भारतले ध्वस्त पारेको दाबी गरेका छन् ।
भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकमाथि भएको हमलापछि तनावपूर्ण भएको छ । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।