काठमाडौं । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित समारोह बीच मास्टर अफ पुलिस साईन्स (एमपीएस) कार्यक्रम समावेश भएको पुलिस लिडरसीप एण्ड स्टाफ कोर्स–पिएलएसी व्याज १) को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त Police Leadership and Staff Course को समुद्घाटन गरेका हुन ।
समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको एवम् राष्ट्रको सेवामा समर्पित नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकामा आधुनिकीकरणको शुभारम्भ भएको उल्लेख गर्दै आजको क्षण प्रहरी संगठनको लागि एउटा ऐतिहासिक उपलब्धी भएको चर्चा गरे । यस क्षणलाई मूर्त रूप दिन आ–आफ्नो ठाउँबाट योगदान पुर्याउने सम्पूर्णहरूलाई बधाई व्यक्त गर्नुका साथै आगामी दिनका लागि शुभकामना समेत उनले व्यक्त गरे । गृहमन्त्री लेखकले नेतृत्व विकासका लागि क्षमता, सीप, व्यावसायिकता, इमानदारीता र प्रतिवद्धता आवश्यक रहेको चर्चा गर्दै अहिलेको विश्वव्यापीकरण र सामाजिक रूपान्तरणले विभिन्न चुनौति, जोखिम र खतराहरू थपिरहेको अवस्थामा परम्परागत पद्धतिले भन्दा पनि यस कोर्सले ती चुनौतिहरूको पहिचान गरी समाधान गर्न सक्षम हुने र प्रहरी संगठनलाई थप मजबुद बनाउन फलदायी हुने बताए ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले भावी नेतृत्व विकासमा महत्वपूर्ण कदम चालेको उल्लेख गर्दै यस कोर्स मार्फत समाजमा देखा परेका आधुनिक चुनौतिहरूको सामना गर्न दक्ष एवम् क्षमतावान् प्रहरी अधिकृतहरू तयार हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले विशेष गरी आर्टिफिसिएल इन्टिलिजेन्स र उन्नत प्रविधिहरूबाट प्रभावित चुनौतिहरूको समाना गरिरहेको उल्लेख गर्दै यस्ता चुनौतिको सामना गर्न हाम्रो नेतृत्व ज्ञान, सीप, निष्ठा र व्यावसायिकता पनि उच्चस्तरको हुनुपर्नेमा जोड दिए । साथै यस्ता चुनौतिको सामना गर्न सक्षम एवम् भावी नेतृत्व तयार गर्न यो कोर्स तयार गरिएको समेत उनले उल्लेख गरे । भबिष्यमा सक्षम र नैतिकवान् प्रहरी नेतृत्वका लागि महत्वपूर्ण यात्राको सुरूवात भएको उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई पूर्ण समर्पण र अनुशासनका साथ यस कोर्स ग्रहण गर्न उनले आग्रह समेत गरे । यस पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउन गृहमन्त्रालयबाट निरन्तर सहयोग, मार्गनिर्देशन र साधनस्रोत प्राप्त हुने विश्वास समेत उनले व्यक्त गरे ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गरेकोे उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.महानन्द चालिसेले शुभकामना मन्तव्य तथा प्रहरी वरिष्ठ उपरीक्षक बेद विष्टले स्वागत मन्तव्य एवम् पुलिस लिडरसिप एण्ड स्टाफ कोर्ष सम्बन्धी संक्षिप्त जानकारी दिएका थिए ।
कार्यक्रममा प्रतिनिधि सभासदस्य एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकश प्राप्त प्रहरी महानिरीक्षकहरू, पिएसका सल्लाहकार प्रा.डा राजिव बिक्रम राणा, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहसचिवहरू, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू तथा संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।