बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

ओलीको कुर्सीका तीन खुट्टा ‘मर्किए’

मंगलबार, बैशाख १६ २०८२

काठमाडौं । प्रधानमन्त्री पदमा बसेपछि स्वेच्छाचारिताको पुनः अभ्यास थालेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेसले सन्तुलनमा राख्ने प्रयासलाई अन्तिम पटक कायम राख्ने भएको छ।

ओलीको मनोपोलीको रवैया फेरि पनि नसुध्रिएको खण्डमा सत्ताबाट हात झिकेर सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने ध्याउन्नमा कांग्रेस लागेको छ। अन्तिम पटक ओलीसँग वार्ता गरी चेक एन्ड ब्यालेन्समा राखिने तर त्यसो नगरे सरकार छाडिदिने कांग्रेसको तयारीले प्रधानमन्त्री पदको कुर्सीका तीन खुट्टा मर्किएको प्रतीत भएको छ।

कांग्रेस स्रोतले भन्यो,‘हामले परिस्थितिलाई हेरेर ओलीलाई प्रधानमन्त्री बनाएका थियौं। अझ दुई बर्ष बढी चलाउनका लागि पनि भनेका थियौं। तर, सहमतिविपरित कांग्रेसलाई बाइपास गर्ने अभ्यास गरिरहेका छन्, हामी हात छाड्ने अवस्थामा नपुगौं भन्ने हो।’

प्रधानमन्त्री ओली र सत्ताको मुख्य घटक कांग्रेस सभापति देउवाबीच शनिबार राती बालुवाटारमा लामो समयसम्म वार्ता भएको थियो। सामयिक अवस्थालाई मात्र लिएर होइन, बीचमा देखिएका खचपचलाई पनि वार्ताका क्रममा उठाइएको थियो।

सो भेटमा गृहमन्त्री रमेश लेखक र उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए।

वार्तामा ठोस कुराकानी के–के भयो भन्ने विषयमा एमाले अध्यक्ष समेत रहेका ओली र देउवाका तर्फबाट आधिकारिक रुपमा खुलाइएको छैन तैपनि ‘पेचिलो’ कुराकानी भएको स्रोतहरुको दाबी रहेको छ।

५ दिनसम्म थाइल्यान्डको बैंककमा फलोअप उपचार र अनौपचारिक हिसाबका भेटमा सरिक भएर शुक्रबार मात्र काठमाडौं उत्रिएका देउवाले चर्चामा रहेको सत्ता समीकरण भत्किने विषयलाई ‘थाहा छैन’ भनेर टारेका थिए।

तर असलमा समीकरणमा राजनीतिक धमिरा लागिसकेको दाबी प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए भने उक्त दलका उपमहासचिव बर्षमान पुनले परिवर्तन जोगाउनका लागि सरकारमा जानुपर्ने बाध्यताको बाटो खुलेको बताएका थिए।

मध्यरातसम्म लामो समय भएको वार्तामा देशका समस्याको विषयमा मात्र चर्चा भएन। भूराजनीतिक अवस्था, गठबन्धनलाई अघि बढाउने र प्रधानमन्त्री ओलीले पनि सत्ता गठबन्धनमा रहेको भन्ने विषय हेक्का राख्नुपर्ने देउवाका सुझाव रहेको थियो। यसैगरी गभर्नर नियुक्तिको विषयमा पनि विशेष र गहिरो संवाद भएको बालुवाटारस्थित उच्च स्रोतले जानकारी दिएको छ।

भेटका क्रममा नेपाली कांग्रेसका नेताद्वारा नै गठबन्धन भत्किने खालको अभिव्यक्ति दिएको विषयमा ओलीको चासो थियो। तर, देउवाले भने नयाँ हिसाबले र सहमतिका आधारमा नचलेको खण्डमा ति चर्चा स्वभाविक बन्न सक्ने उत्तर दिएको पनि स्रोतको दाबी छ।

यसअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले आवश्यक परेको खण्डमा नयाँ तरिकाले जाने या सरकारबाट अलग रहन सक्ने किसिमका अभिव्यक्ति दिएका थिए। दुई दलीय सत्ता साझेदारको संयन्त्रमा रहेका दुई सदस्यको यस्तो अभिव्यक्ति ‘हावा चलेका कारण पात हल्लिएको’ हिसाबमा जनताले बुझेका थिए।

प्रधानमन्त्री ओलीले सरकार १४ महिनापछि देउवालाई सुम्पिने बारम्बार बताउँदै आइरहेका छन्। यो विषय पनि शंकास्पद रुपमा नै बुझ्न थालिएको छ। ‘सरकार कहिले सुम्पिने भनेर कसैले सोधेको पनि छैन, संकटमा रहेको चर्चाको प्रतिक्रिया प्रधानमन्त्रीले दिन आवश्यक छैन’, स्रोतले भन्यो,‘गठबन्धन बलियो र धरमरमा नभएको खण्डमा किन सरकार टिक्छ, समस्या छैन भन्न पर्छ र? यहिँ शंका छ।’

यता एमाले केन्द्रीय सदस्य विष्णु रिजालले भने बीचमा देखिएको असहमति र चलाइएको हल्ला चिरिएको दाबी गरेका छन्। ओली र देउवाको भेटको अर्थ सहमतिअनुसार चल्ने र चलेका हल्लालाई विश्राम गराउने खालका रहेको रिजालको भनाई थियो।