काभ्रे वैशाख, २५–
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सत्तारुढ नेकपा सत्ताकब्जाको दिशामा अघि बढेको बताएका छन् । बुधबार काभ्रेको धुलिखेलमा पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ को उद्घाटन गर्दै नेता कोइरालाले अहिले देशमा लोकतन्त्र नै नभएको बताएका हुन् । उनले वर्तमान सरकारले लोकतन्त्रमाथि निरन्तर आक्रमण गरेको प्रष्ट पारे । प्रधानमन्त्री ओलीले स्वतन्त्र प्रेसमाथि आक्रमण गरेको भन्दै कोइरालले प्रधानमन्त्रीले आफूविरुद्धको समाचार हेर्न र पढ्न पनि नसक्ने बताए । ‘प्रधानमन्त्रीले आफ्नो विरोधमा लेखिएका समाचारलाई ‘फेक’ मिडियाले लेखेको भन्ने गर्नुहुन्छ ।’ नेता कोइरालाले भने । सरकार गठन भए यताको क्रियाकलाप हेर्दा नेकपाले सत्ता कब्जा गर्न खोजेको प्रष्टै देखिएको उनको भनाइ छ ।
नेता कोइरालाले मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रम पारित गर्ने क्रममा सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति पनि आक्रोश व्यक्त गरे । उनले सभामुख महराले प्रधानमन्त्रीको पक्ष लिएको आरोप समेत लगाए । नेता कोइरालाले भने, ‘संसदमा हामीले बोलेको रेकर्डबाट तुरुन्तै हटाउने अनि प्रधानमन्त्रीको बोली हटाउन नसक्ने वा पछि हटाए पनि हुने भन्ने हुन्छ ?’ कोइरालाले भने ‘कार्यपालिका र व्यवस्थापिका एउटै अंग भइसकेको छ, न्यायपालिका पनि कार्यपालिकाको एउटा अंग जस्तो भएको छ ।’
उनले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण, अनुसन्धान विभाग आदि प्रधानमन्त्री अन्तर्गत ल्याउनु सत्ता कब्जाको पूर्वअभ्यास भएको प्रष्ट पारे ।
सरकारले नेपाली सेनालाई पनि विवादित गर्ने प्रयास गरेको नेता कोइरालाको भनाइ थियो ।