काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन भोलि (शुक्रबार) हुदैँछ । चुनाव जित्नका लागी यतिवेला उम्मेदवारहरु आ–आफ्नो एजेन्डासहित मतदातासमक्ष मत माग्न व्यस्त छन् । जसमा अध्यक्ष पदका लागि नरेश गेलाल र भुवनसिंह गुरुङको उम्मेदवारी परेको छ । गेलाल र गुरुङ प्यानलसहित मैदानमा उत्रिएका छन् ।
निर्वांचनमा २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुदैछ ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको तालमेलमा संघका पूर्व महासचिव तथा एचआर इन्टरनेशनल सर्भिसका संचालक नरेश गेलालको अध्यक्षतामा प्यानलसहित उम्मेदवारी दर्ता गरेको छ । यस समूहलाई राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले पनि सघाउने घोषणा गरेको छ ।
त्यस्तै गेलाल समुहबाट सचिवमा कन्फिडेन्ट इन्टरनेशनल मेनपावरका संचालक अनिल बोगटीलगायत विभिन्न पदमा उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
यसैगरी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँग तालमेल गरेर संघका पूर्व द्धितिय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भुवनसिंह गुरुङको अध्यक्षतामा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । सो समुहमा महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्टका संचालक महेशकुमार बस्नेतलगायत विभिन्न पदमा उम्मेदवार मैदानमा छन् ।
अध्यक्षको उम्मेदवार नरेश गेलाल आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । उनले २३ बर्षदेखि वैदेशिक रोजगार व्यवसायमा लागेको तथा यस क्षेत्रमा रहेका समस्या नजिकबाट देखेको कारण त्यसको समाधान निमित्त चुनावी मैदानमा उत्रिएको बताए । महासचिवमा रहेर सफलतापुर्वक कार्यसम्पन्न र बाँकि कार्यभर पुर्ण सफलताका लागी मेरो नेत्रृत्व आउनुपर्छ भन्ने मतदाताले बुझकै कारण अध्यक्षमा जित निश्चित रहने गेलालको विश्वास छ । गेलाललाई वैदेशिक रोजगार व्यवसायमा सिन्डिकेट विरोधी व्यवसायीको रुपमा पनि चिनिने गरिन्छ । गेलालको नयाँ र आकर्शित रोजगार गन्तब्यको खोजी गर्ने प्रमुख एजेन्डा रहेको छ ।
त्यस्तै भुवनसिंह गुरुङको अध्यक्षतामा रहेको प्यानलका महासचिवका उम्मेदवार महेशकुमार वस्नेतले व्यवसायहरुको हितका लागी पुर्ण रुपमा लागी पर्ने बताए । उनले संघलाई निति, बिधि, बिधान र मूल्यको आधारमा चलाउनु पर्ने बताए । उनले आफ्नो जितपश्चात व्यवसायमा रहेको सिन्डिकेट हटाउने बताए । सिन्डिकेटधारीहरुले पुन सिन्डिकेट गराउन खोजे त्यस्ता सिन्डिकेटधारीहरुलाई वैदेशिक व्यवशायमा नफर्किने गरी हटाउने वस्नेतको भनाई छ ।
त्यस्तै अध्यक्षको उम्मेदवार नरेश गेलालको प्यानलबाट सचिव पदका उम्मेदवार अनिल बागटिले रोजगारदाता र व्यवसायीबीच प्रत्यक्ष सहकार्यमा संघ अगाडि बढ्नुपर्ने बताए । उनले श्रमिकमैत्री नीति निर्माण गरी सरकारसँग समन्वय गरेर वैदेशिक व्यवसाय संघ अगाडि बढ्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताए। आफ्नो जितपश्चात सिप विकास, छवि निर्माण र नैतिक व्यवसाय प्रवद्र्धनमा पहल गर्ने बताए ।
वैदेशिक व्यवसाय संघको निर्वाचनका लागि ९०२ मतदाता रहेका छन् ।