काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मागिएको धरौटी रकम मिनाहाको दाबीसहित उच्च अदालत कास्की पोखरा पुगेका थिए।
तर पोखरा उच्च अदालतमा उनको निवेदनको सुनुवाई नभएपछि पत्नी निकितासहित फर्किन बाध्य भए।
यता शुक्रबार उनी स्वर्णलक्ष्मी सहकारी प्रकरणमा तोकिएको धरौटी रकम मिनाहा गरी साधारण तारेखको मागसहित उच्च अदालत पाटन जाने भएका छन्।
यसबाहेक रवि अब रुपन्देहीमा पनि उच्च अदालतमा जाने तयारीमा छन्।
सभापति रवि उच्च अदालत हिँडेको हिँडै गर्दा पार्टीका कार्यबाहक सभापति डीपीसहित कार्यबाहक पद पाएका जति हेरिरहेका मात्र छन्।
तर उपसभापति स्वर्णिम वाग्लेले सदन सुचारु भएको १८ माघमा कानुनी लडाँईमा अदालत जाने हुँकार छाडेका थिए। यति धेरै कार्यबाहक पद भएका कुनै पनि पदाधिकारी या रास्वपा आफैं पनि अदालतमा उनको सांसद पदको निलम्बन फुकुवाका लागि अहिलेसम्म पुगेका छैनन्।
‘रविजी आफ्नो कानुनी लडाँईमा अहिले ब्यस्त हुनुहुन्छ। यसबेला पार्टीका पदाधिकारी र अन्यले पनि सहयोग गर्नुपर्ने हो तर सोचे जस्तो सरोकार राखेको देखिन्न’, एक नेताले भने।
रविका नाममा विगतमा सडक ताते पनि अहिले राजसंस्था र हिन्दूत्वको विषयमा बहस चल्दा सहकारी प्रकरणको विषय छायाँमा परेको मान्नेहरु पनि धेरै छन्।
‘यहाँ त रास्वपाका नेता जति हेरेको हेरै हुन् अवस्था देखियो’, एक नेता भन्छन्,‘गणतन्त्र कि राजसंस्था भन्ने विषयमा पनि खुल्न सक्नुभएको छैन। मौन बसिरहनु भएको छ।’
सञ्चार क्षेत्रमा लामो समय बिताएपछि रवि लामिछानेले २०७९ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरी औपचारिक रूपमा राजनीतिमा प्रवेश गरे।
२०७९ को संघीय चुनावमा उनले चितवन–२ बाट अत्यधिक मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।
उनले केही समय गृहमन्त्रीको पद सम्हाले तर नागरिकता विवादका कारण पदबाट हट्नु प¥यो।
पछि पुनः नागरिकता लिएर सांसदका रूपमा पुनःस्थापित भए।
रवि लामिछाने पत्रकारिता र राजनीतिमा निकै प्रभावशाली भए पनि विभिन्न विवादमा तानिएका छन्।
नागरिकता मुद्दाः अमेरिकी नागरिकता लिएको र पुनः नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियामा कानुनी प्रश्न उठेको थियो।
केहीले उनीमाथि पूर्वाग्रही पत्रकारिता गरेको आरोप लगाएका छन्।
उनको टेलिभिजन कार्यक्रमसँग सम्बन्धित आर्थिक विवादहरू पनि उठेका छन्। पछि सहकारी प्रकरण पनि जोडियो।
रवि लामिछाने नेपाली सञ्चार जगतमा लोकप्रिय नाम हो, जसले पत्रकारितालाई जनमुखी बनाउने काम गरे। राजनीतिमा प्रवेश गरेपछि पनि उनी चर्चामा नै छन्। समर्थकहरू उनलाई इमानदार नेता मान्छन् भने आलोचकहरू उनीमाथि विभिन्न आरोपहरू लगाउँछन्। जे होस्, नेपाली पत्रकारिता र राजनीतिमा उनको योगदान महत्वपूर्ण रहँदै आएको छ।