काठमाडौं । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले सिंगापुरमाथि ऐतिहासिक जित निकालेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजित गरेको हो।
नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै इतिहास रच्न सफल भयो। नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए।
मनिष डाँगीले दिएको पासमा कार्कीले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका हुन्।
नेपालले सिंगाापुरविरूद्धको औपचारिक खेलमा पहिल पटक गोल गर्न सफल भएको हो। १९८२ देखि सिंगापुरसँग खेल्न थालेको नेपालले पहिलो पटक जित र गोल गर्दै इतिहास रच्न सफल भयो।
नेपालले सिंगापुरसँग ३६ वर्षपछि खेलेको हो। पछिल्लो पटक नेपाल र सिंगापुर १९८९ मा प्रतिस्पर्धा गरेका थिए। विश्वकप छनोटमा त्यतिबेला नेपाल र सिंगापुरले दुई खेल खेलेका थिए। १९८९ को मे महिनामा भएको खेलमा नेपाल ३-० गोलले पराजित हुँदा जुनमा नेपालले ७-० गोलको हार ब्यहोरेको थियो।
फिफा वरीयतामा सिंगापुर नेपालभन्दा १५ स्थान माथि छ। सिंगापुर १६०औं स्थान तथा नेपाल १७५औं स्थानमा छन्।