काठमाडौं वैशाख, ९–
परीक्षाका प्रश्नपत्र आउट भएपछि स्थगित प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) दोस्रो पटक सञ्चालन गर्दा राज्यलाई एक करोड रुपैयाँ थप व्ययभार परेको छ।
परीक्षाअघि नै प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एक साता परीक्षा स्थगन गरी पुनः सञ्चालन गरेको थियो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
पहिलो चरणमा एसईई चैत १० गते सुरु भएको थियो। तर ३ विषयको परीक्षा सकिएपछि प्रदेश २ मा लगातार ३ विषयको प्रश्नपत्र बाहिरिएको थियो। यसरी प्रश्न बाहिरिएपछि शिक्षा मन्त्रालयले त्यहाँ हुन बाँकी विषयको परीक्षा स्थगन गरी चैत २२ गतेदेखि सञ्चालन गरेको थियो।
पहिलो पटक छापिसकेको प्रश्नपत्र खेर गएपछि अर्को पटक छाप्दा लागेको खर्च, परीक्षामा खटिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षकसहित सुरक्षाकर्मी र कार्यालय सहायकलाई समेत दैनिक दिनुपर्ने भत्तालगायत शीर्षकमा यो रकम खर्च भएको हो।
‘परीक्षा रोकिएपछि पहिले छापेका सबै प्रश्नपत्र रद्द गर्नुप(यो’, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० का नियन्त्रक विष्णु अधिकारीले भने, ‘विभिन्न शीर्षकमा खर्च गर्दा १ करोड २ लाख रुपैयाँ थप व्ययभार थपियो।’ प्रदेश २ मा २ सय ६३ परीक्षा केन्द्र थिए।
सबै केन्द्रमा त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष हुन्छन्। परीक्षा स्थगित भए पनि दुवै केन्द्रमा केन्द्राध्यक्षलगायत कर्मचारी खटिसकेका थिए। केन्द्राध्यक्षले दैनिक ८ सय रुपैयाँ भत्ता पाउँछन्। यस हिसाबले उनीहरूको भत्ताबापत एक दिनमा २ लाख १० हजार ६ सय रुपैयाँ खर्च हुन्छ।