बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मेलम्चीको पानी थोक वितरण प्रणालीको पाइपलाइनमा क्षति

बुधबार, फाल्गुन २१ २०८१

काठमाडौं । काठमाडौंको थापाथली चोकबाट पूर्वतर्फ प्रसुती गृहतर्फको सडक मुनी बिच्छ्याइएको मेलम्चीको पानी थोक वितरण प्रणालीको पाइपलाइनमा मंगलबार विहान भएको क्षति विगतमा नेपाल विद्युत प्राधिकरणबाट विद्युतलाइन भूमिगत गर्नका लागि सडक खनेर पाइप विच्छ्याउँदा सावधानी नअपनाएको कारणले भएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

विद्युतलाइन भूमिगत गर्नका लागि पाइप विच्छ्याउँदा मेलम्चीको पाइपको तल, माथि, दायाँ र बायाँ कम्तीमा एक मिटरको दूरी राख्नुपर्ने विगतको समझदारी विपरित प्राधिकरणले सडक खनेर मेलम्चीको पाइपमाथि नै विद्युतको पाइप राखेको पाइएको र त्यसक्रममा मेलम्चीको पाइपमा चोट लागेको स्थलगत अध्ययनबाट देखिएको छ ।

एक दिनअघि बानेश्वर क्षेत्रमा पाइपलाइन मर्मतका लागि माइतिघरस्थित भल्भ बन्द गरिएको र ललितपुरको ज्वागलमा रहेको एयर भल्भ पनि बन्द रहेकै अवस्थामा एकान्तकुनाबाट माइतिघरतर्फ पानी आउँदा चाप बढ्न गई चोट लागेको ठाउँमै मेलम्चीको पाइप फुटेको पाइएको छ ।

आज विहान ५ः२० मा पाइप फुटेर सडकमा पानी निस्कना साथ आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्राविधिकहरू खटाई त्यस क्षेत्रको पानी प्रवाह बन्द गरिएको थियो ।

यसैगरी, काठमाडौं महानगरपालिकाले सडकमा जमेको पानीको निकासको व्यवस्था मिलाएको र सडकमा जम्मा भएको बालुवा, गिट्टी र माटो सफा गर्ने काम पनि महानगरपालिकाबाट नै भएको थियो ।