काठमाडौं चैत, २७–
पूर्व सांसद समेत रहेका उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभासद बनेका गोल्छाको मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको हो ।
मृगौला सम्बन्धी समस्याबाट पीडित स्वर्गीय गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत थिए । स्वर्गीय गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व थिए ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाउनु परेको बताएका छन् ।
साथै, उनको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।