आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्र बैंकको प्रतिवेदन

सुदुरपश्चिम प्रदेशको औद्योगिक क्षेत्रमा बैंकहरुको २५ अर्ब कर्जा

बुधबार, माघ ९ २०८१

काठमाडौं । सुदुरपश्चिम प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा फाईनान्स कम्पनीहरुले २५ अर्ब ६० करोड १८ लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्वन्धी सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन अनुसार २०८१ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा २०८१ असार मसान्तसम्ममा औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा चार दशमलव ७९ प्रतिशतले घटेर २५ अर्ब ६० करोड १८ लाख रुपैंयाँमा खुम्चिएको हो । गत वर्षको सोही अवधिमा यस्तो कर्जा चार दशमलव ७० प्रतिशतले बढेको थियो ।

प्रतिवेदन अनुसार कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १६ दशमलव ७५ प्रतिशत रहेको छ । समीक्षा वर्षसम्ममा कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी तीन दशमलव २० प्रतिशतले बढेको छ भने भने विधुत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा सबैभन्दा बढी १२ दशमलव १३ प्रतिशतले घटेको छ । कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४१ दशमलव २६ प्रतिशत, गैर खाद्यवस्तुसम्बन्धी उद्योगमा २८ दशमलव ३५ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २१ प्रतिशत, धातुकोउत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा सात दशमलव ५५ प्रतिशत, विधुत, ग्याँस तथा पानी उद्योगमा १ प्रतिशत र खानी सम्बन्धी उद्योगमा शुन्य दशमलव ८० प्रतिशत अंश रहेको छ ।

प्रतिवेदन अनुसार समीक्षा वर्षमा सुुदुपश्चिम प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८ दशमलव ४४ प्रतिशत रहेको छ भने बाजुरा जिल्लाको अंश सबैभन्दा कम शुन्य दशमलव ४१ प्रतिशत रहेको छ । यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बैतडी, दार्चुला, तथा बझाङ को अंश क्रमशः १६ दशमलव ६५ प्रतिशत, एक दशमलव ६७ प्रतिशत, शुन्य दशमलव ९४ प्रतिशत, शुन्य दशमलव ६६ प्रतिशत, शुन्य दशमलव ५० प्रतिशत, शुन्य दशमलव ४९ प्रतिशत, र शुन्य दशमलव ४२ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा एक दशमलव ३१ प्रतिशतले घटेर १६ अर्ब ५२ करोड ८५ लाख रुपैंयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १० प्रतिशतले बढेको थियो । प्रतिवेदन अनुसार समीक्षा वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा १९ दशमलव ३७ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम शुन्य दशमलव शुन्य तीन प्रतिशत सनपाट शीर्षकमा प्रवाह भएको छ । समीक्षा वर्षमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १० दशमलव ८१ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६६ दशमलव ४५ प्रतिशत, कञ्चनपुरको २० दशमलव ७९ प्रतिशत, डडेल्धुरा, डोटी, बझाङ, दार्चुला, बैतडी, अछाम तथा बाजुराको अंश क्रमशः तीन दशमलव ४४ प्रतिशत, एक दशमलव ८६ प्रतिशत, एक दशमलव ८२ प्रतिशत, एक दशमलव ७४ प्रतिशत, एक दशमलव ४८ प्रतिशत, एक दशमलव ३४ प्रतिशत र एक दशमलव शुन्य सात प्रतिशत रहेको छ ।