११ वटाले नाफा कमाउँदा तीन वटाले बेहोरे घाटा
काठमाडौं । निक्षेप तथा कर्जा प्रवाह सन्तोषजनक नभएको अवस्थामा पनि बिकास बैंकहरुको नाफा भने सन्तोषजनक देखिएको छ । सञ्चालनमा रहेका १७ वटा बिकास बैंकहरु मध्येमा हालसम्म १४ वटाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा ११ वटाले नाफा कमाएर तीन वटा मात्र घाटामा जानुले पनि बिकास बैंकहरुको नाफा सन्तोषजनक देखिएको हो।
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको मध्ये सिन्धु बिकास बैंकले चालु आवको दोस्रो त्रैमासमा चार करोड ८७ लाख चार हजार रुपैंयाँ नाफा कमाएको छ भने नारायणी डेभलपमेन्ट बैंकले यस अवधिमा ६२ लाख १३ हजार रुपैंयाँ घाटा बेहोरेको छ।
राष्ट्रियस्तरमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको लुम्विनी, कामना सेवा, ज्योति, मुक्तिनाथ र शाईन रेसुंगा डेभलपमेन्ट बैंकले भने चालु आवको दोसो त्रैमासमा क्रमशः १४ करोड ७६ लाख १८ हजार, ३२ करोड २४ लाख ९३ हजार, ५० करोड ३१ लाख २२ हजार र ३३ करोड आठ लाख ५६ हजार रुपैंयाँ नाफा कमाएका छन् । यस अवधिमाा राष्ट्रियस्तरकै महालक्ष्मी, साँग्रिला र गरिमा बिकास बैंकले पनि क्रमशः २८ करोड ७४ लाख ९९ हजार, १९ करोड ६५ लाख ६१ हजार र ५४ करोड ९९ लाख ६२ हजार रुपैंयाँ नाफा कमाएका छन्।
क्षेत्रियस्तरमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको कर्पोरेट र मितेरी डेभलपमेन्ट बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः एक करोड सात लाख ३९ हजार र दुई करोड ५८ लाख ५१ हजार रुपैंयाँ नाफा कमाएका छन् । यस अवधिमा क्षेत्रियस्तर कै एक्सेल र सप्तकोशी डेभलपमेन्ट बैंकले भने क्रमशः नौं करोड पाँच लाख ३५ हजार र दुई करोड ९९ लाख १७ हजार रुपैंयाँ घाटा बेहोरेका छन्।
