काठमाडौं चैत, २४–
प्रधानमन्त्री केपी शर्मा ओलीले कहिँकतै भ्रष्टाचारको गन्ध आएको पाईए सैह्य नहुने चेतावनी दिएका छन् । आइतबार सिंहदरबारमा बसेको गरिवी निवारणको कोषको ७० औं सञ्चालक समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई कडा निर्देशन दिएका हुन् । भ्रष्टाचार हुन नदिन सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न पनि प्रधानमन्त्री ओलीले सचेत गराए ।
कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्याङ्कन गरेर मात्रै गरिवी निवारण कोषका लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताएको कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए ।
कोषले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ । त्यसैगरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले जानकारी दिए ।
गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन । उनीहरुको सञ्चालन र त्यसमा रहेको कोषको परिचालन पनि स्थानीय तहले नै गर्ने कोषले जनाएको छ ।