घर जग्गा धितो सुरक्षणमा ६६ प्रतिशत कर्जा प्रवाह
काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय निक्षेप परिचालन बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको कात्र्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप एक खर्ब ४९ अर्ब ८४ करोड रुपैंयाँ अर्थात दुई दशमलव तीन प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ५४ अर्ब ६१ करोड रुपैंयाँ अर्थात दुई दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२ दशमलव छ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव तीन प्रतिशत, ३२ दशमलव आठ प्रतिशत र ५४ दशमलव पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः छ दशमलव एक प्रतिशत, २७ दशमलव तीन प्रतिशत र ६० दशमलव दुई प्रतिशत रहेको थियो । २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव आठ प्रतिशत रहेको छ । २०८० कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ४७ करोड अर्थात दुई दशमलव पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ९९ अर्ब ४० करोड दुई दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा छ दशमलव दुई प्रतिशतले बढेको छ । २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव एक प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव नौं प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव एक प्रतिशत र ३६ दशमलव नौं प्रतिशत रहेको थियो।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह दुई दशमलव छ प्रतिशतले, विकास बैंकहरुको दुई प्रतिशतले र फाईनान्स कम्पनीहरुको कर्जा प्रवाह तीन दशमलव नौं प्रतिशतले बढेको छ । २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १३ दशमलव पाँच प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६ प्रतिशत रहेको छ । २०८० कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव एक प्रतिशत र ६७ दशमलव तीन प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१÷८२ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा तीन दशमलव एक प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा एक दशमलव आठ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा दुई दशमलव एक प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा चार दशमलव छ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा दुई दशमलव नौं प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा दुई दशमलव पाँच प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शुन्य दशमलव नौ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा दुुई दशमलव सात प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १९ दशमलव छ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा २२ दशमलव एक प्रतिशतले, हायर पर्चेज कर्जा दुई दशमलव एक प्रतिशतले, नगद प्रवाह कर्जा शुन्य दशमलव छ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) एक दशमलव सात प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा अधिविकर्ष कर्जा भने छ दशमलव छ प्रतिशतले घटेको छ।