बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

घनश्याम भुसाललाई विष्णु रिमालको जवाफ : ह्याउ भए बनाएर देखाउ न आफ्नो घर !

अरुले दुःखले बनाएको घरमा लुसुक्क छिरेर ‘बन साङ्ला' ले 'घर साङ्ला' लाई लखेटे झैं उल्टै हाकिम पल्टिने ?

आइतबार, पुष १४ २०८१

काठमाडौं । नेकपा एसका महासचिव घनश्याम भुसाललाई नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले कवितात्मक जवाफ फर्काएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले एमाले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको महोल शान्त हुने बताएका थिए। त्यसको जवाफमा रिमालले यस्तो बताएका हुन् ।

भुसालले एमालेभित्र उकुसमुकुस बढेको भन्दै अध्यक्ष पद छाड्न केपी शर्मा ओलीलाई सुझाव दिएका थिए । त्यतिमात्र होइन पार्टी नेतृत्वमा ओलीको नीति असफल भइसकेकाे भन्दै ओलीलाई भुसालले नेतृत्व छोड्न सुझाएका थिए ।

सामाजिक सञ्जालबाटकवितात्मक शैलीमा त्यसको जवाफ फर्काउँदै एमाले उपमहासचिव रिमालले भनेका छन्, ‘ह्याउ भए बनाएर देखाउ न आफ्नो घर !
आफ्नो घरको मझेरीमा, आँगनमा,
गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हॉडा-भाँडा’हरू
बज्न नदेउ न’

अहिले अर्तिउपदेश दिने भुसाल त्योबेला सधैँ विवाद झिकेर बस्ने र पार्टी विभाजनमा लाग्ने गरेको दृष्टान्त पेश गर्दै रिमालले आदर्शका गफ र अर्ति उपदेशका पोका बोकेर उनी सधैँ हिँड्ने गरेको आरोप लगाएका छन् ।

हेर्नुहोस् उपमहासचिव रिमालको कविता :

उनी पो निसासिए रे !
उननचालीस सालदेखि यता
हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौं,
पार्टी भित्र सँधै उनी—
विवादका लागि मौकाको खोजीमा रहे,
अनवरत ‘किच–किच’ गरेर बसीरहे।
प्रत्येक चुनौति चिर्दै
पार्टीले उचाइ छोएको बेला,
सुरु भएको विवादमा,
हामी एकताको पक्षमा उभियौं,
उनले बिभाजनको बाटो रोजे ।
बाटो मात्र रोजेनन्,
त्यस समूहलाई पनि बीचमै छोडे- अन्तै दौडिए।
‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।
एक समय फेरि आयो,
पार्टीमा बहस–विवाद सुरु भयो ।
‘जोरीपारी’हरु–
‘एमाले विनाको राजनीति’को खेतीमा लागे,
उनी ‘ओली विनाको एमाले’ भन्दै उफ्रिए ।
विभाजनको लागि कसैलाई उचाले–
एकता भन्दै आफू अर्कातिर अल्झिए ।
मौसम छ्याङ्ग भएपछि,
फेरि नयाँ चुनौति सामना गर्ने बेलामा—
छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।
सानै सहि—
असहमत ‘अरुहरु’ले दुःखैले बनाएको घरमा
लुसुक्क छिरे–
‘बन साङ्ला’ले ‘घर साङ्ला’लाई लखेटे झैं
उल्टै हाकिम पल्टिए ।
अहिले फेरि उनलाई लागेछ क्यारे–
कतै ‘टाँड’ पो पर्छ कि?!
कतै औंला घुसार्न पो मिल्छ कि?!
अनि भन्न थाले छन् फेरि–
‘ओलीले छोड्नु पर्छ, उकुसमुकस भएको छ।’
अरे यार!
ह्याउ भए बनाएर देखाउ न आफ्नो घर !
आफ्नो घरको मझेरीमा, आँगनमा,
गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हॉडा-भाँडा’हरू
बज्न नदेउ न !
ढोका खोलुन् कि–– छेस्किनी लाउन्,
अरुले उनीहरुका घरमा,
जे गरुन–बाल मतलव!