मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

आइतबार, मंसिर ३० २०८१

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ अन्सारी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र गाँजा ७० ग्राम सहित काभ्रे घर भई ललितपुर पुल्चोक बस्ने ३० वर्षीय निर्मल तामाङ समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २३ ट्याब्लेट र फेनारगन २३ एम्पुल सहित मकवानपुरगढी गाउँपालिका–२ फुलबारी बस्ने ४३ वर्षीय साकार दाहाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कञ्चनपुरको भिमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तराखण्ड उधमसिंहनगर खटिमा बस्ने २७ वर्षीय सलमान शाह र २४ वर्षीय प्रभजोत सिंह खिंडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको प्रहरीले युपि ०६ बिडि ८८०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका–७ जोगीपुर बस्ने १९ वर्षीय बसन्त परियार र डुडुवा गाउँपालिका–५ डलैपुर बस्ने १९ वर्षीय शिसिर सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनताबस्ती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २५ मिलिग्राम सहित मोरङ बेलबारी नगरपालिका–६ बस्ने २० वर्षीय बामदेव दर्नाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले मे.१ प ४३१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।