काठमाडौं । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर २१ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका पाँच जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरूमा डा. केदार खड्गी, डा. छन्द बहादुर बुढाथोकी, डा. पवन कुमार राय, डा. सुवर्ण कुँवर र श्याम कुमार मण्डल रहेका छन्।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । राष्ट्र, जनता र संगठन प्रति पु¥याएको सेवा, कार्यदक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदीय दायित्व र मर्यादा बढ्दै जाने हुँदा पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी सांगठनिक विकास र सुदृढिकरणको क्षेत्रमा उत्कृष्ट जिम्मेवारी निर्वाह हुने अपेक्षा रहेको उनले बताए।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा रहेका विभिन्न प्राविधिक समूहले पु¥याएको सेवाको प्रशंसा गर्दै नेपाल प्रहरीले प्रदान गर्ने प्राविधिक सेवालाई थप व्यावसायिक, परिष्कृत, सुदृढ र प्रभावकारी बनाउन पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले आ–आफ्नो जिम्मेवारी वहन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हित र समुन्नतीको लागि केन्द्रित गरेर अझ थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप प्रेरित हुने विश्वास उनले व्यक्त गरे।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. केदार खड्गीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो।