बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

शुक्रबार, मंसिर ७ २०८१

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको भे. १ ख ४१५९ नम्बरको बसमा सवार बाँके कोहलपुर नगरपालिका–१४ बस्ने २४ वर्षीय बिमल तामाङलाई १ ग्राम ५ सय मिलिग्राम तथा इलामबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१ ०१–००१ ख ४४८८ नम्बरको बसमा सवार झापा भद्रपुर गाउँपालिका–९ बस्ने २७ वर्षीय सञ्जय सुब्बा र २९ वर्षीय उज्वल राईलाई २ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–३ रोड हाउस क्याफे नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय सागर राजी र २९ वर्षीय धर्मेन्द्र धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

पर्साको वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा ७ किलो १ सय ग्राम सहित भारत गोपालगंज अम्पुरा घर भएका ६५ वर्षीय गोपाल महतोलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।