काठमाडौं । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न आगामी नोभेम्बर ५ मा (कार्तिक २० गते) मतदान हुन लागेको छ । तर त्यहाँ राष्ट्रपति निर्वाचित सर्वाधिक मत ल्याएर मात्र पुग्दैन।
अमेरिकामा मतदाताको प्रत्यक्ष मतबाट नभई ’इलेक्टोरल कलेज’ भनिने निर्वाचक मण्डलले राष्ट्रपति छान्छ । त्यहाँ राज्यहरूलाई मतभार दिइएको हुन्छ, अनि त्यसकै आधारमा परिणामको छिनोफानो हुन्छ।
तसर्थ धेरै सर्वसाधारण मतदाताको समर्थन पाउने उम्मेदवार पनि निर्वाचनमा पराजित हुने सम्भावना रहन्छ । उक्त प्रणाली र राष्ट्रपति निर्वाचित हुने प्रक्रियाबारे हामीले यहाँ चर्चा गरेका छौँ ।
यो निर्वाचनमा अधिकांश अमेरिकीहरूले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई भोट हाल्ने छन् ।
मतदाताले दिएको मत सीधै उनीहरूलाई जाँदैन । अर्थात् उम्मेवारहरूबीच राष्ट्रव्यापी प्रत्यक्ष प्रतिस्पर्धा हुँदैन, प्रत्येक राज्यमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुन्छ ।
जनताले दिएको मत उनीहरूलाई प्रतिनिधित्व गर्ने ’इलेक्टोरल कलेज’ अर्थात् निर्वाचक मण्डलमा रहने व्यक्तिहरूलाई जान्छ । यो समूहमा रहेका व्यक्तिलाई ’इलेक्टर’ अर्थात् निर्वाचक भनिन्छ । उनीहरूको काम राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नु हो ।
कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो । अमेरिकामा ५० राज्य छन् । ती राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल सङ्ख्या ५३८ छ ।
इलेक्टोरल कलेजको भेला प्रत्येक चार वर्षमा हुने निर्वाचन सकिएपछि केही सातामा आयोजना हुन्छ । त्यही भेलाले राष्ट्रपति र उपराष्ट्रपति छान्छ ।
कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन् । निजसँगै उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेको व्यक्ति स्वतः निर्वाचित हुन्छन् ।
“कलेज“ शब्दले राज्यका तर्फबाट मत दिने निर्वाचकहरूको समूहलाई बुझाउँछ । अमेरिकामा ती व्यक्तिलाई “इलेक्टर“ भनिन्छ ।
यो प्रणाली राष्ट्रपति निर्वाचनमा मात्र प्रयोग हुन्छ । अरू निर्वाचनमा लोकप्रिय मतका आधारमा नै परिणाम आउँछ ।
प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आकारका आधारमा इलेक्टोरल मतको सङ्ख्या तोकिएको हुन्छ ।
क्यालिफोर्निया राज्यसँग सर्वाधिक ५४ इलेक्टोरल मत छ । कम जनसङ्ख्या भएका वाइओमिङ, अल्यास्का, नोर्थ डकोटा र वाशिङ्टन डीसीसँग न्यूनतम तीन–तीन मत छ ।
सामान्यतया प्रत्येक राज्यमा सबैभन्दा धेरै मतदाताको प्रत्यक्ष मत पाउने पार्टीले राज्यभरिको इलेक्टोरल कलेज मत पाउँछ ।
उदाहरणका लागि, यदि रिपब्लिकन उम्मेदवारले टेक्सस राज्यमा ५०.१ प्रतिशत मत ल्याए भने निजले उक्त राज्यका सबै ४० इलेक्टोरल कलेज मत हात पार्छन् । राज्यमा ठूलो मतान्तरले जित्ने उम्मेदवारले भनेको निर्धारित सङ्ख्याको इलेक्टोरल कलेज मत नै हो ।
तसर्थ उम्मेदवारहरू देशभरि धेरै मतदातालाई आफ्नो पक्षमा उभ्याउनेभन्दा पनि मत जता पनि ढल्किन सक्ने भएकाले कडा प्रतिस्पर्धा हुने ’स्विङ स्टेट’ भनिने राज्यहरूमा विशेष मेहनत गर्छन् ।
उम्मेदवारले केही राज्यहरूमा निकै कम मतान्तरबाट चुनाव जितेको र देशभरिको समग्र मत कम पाएको अवस्थामा पनि राष्ट्रपति बन्ने सम्भावना रहन्छ ।
सन् २०१६ मा डोनल्ड ट्रम्पले देशभरिबाट पाएको मतको सङ्ख्या हिलरी क्लिन्टनको भन्दा ३० लाख कम थियो । सन् २००० मा जोर्ज डब्ल्यू बुशले एल गोरलाई पराजित गरेको भए पनि गोरले पाएको मत बुशकोभन्दा झन्डै पाँच लाख बढी थियो ।
उन्नाइसौँ शताब्दीमा तीन उम्मेदवारहरू आफ्ना निकटतम प्रतिद्वन्द्वीको भन्दा कम लोकप्रिय मत पाएर पनि राष्ट्रपति निर्वाचित भएका थिए ।
निर्वाचक मण्डलको सकारात्मक र नकारात्मक पक्ष
फाइदा:
– उम्मेदवारहरूका लागि साना राज्य पनि महत्त्वपूर्ण हुन्छन्
– उम्मेदवारहरूले देशैभरि भोट माग्न गइरहनुपर्दैन
-पुनः गणना गर्नुपरेको अवस्थामा सहज हुन्छ किनभने प्रत्येक राज्यको छुट्टाछुट्टै गणना गर्न सकिन्छ
बेफाइदा:
– कैयौँ मतदाताहरूले आफ्नो मतको अर्थ नभएको महसुस गर्छन्
– ’स्विङ स्टेट’ भनिने अनिश्चित राज्यहरू निकै शक्तिशाली हुन्छन्
— धेरै मत पाउने उम्मेदवारले पनि चुनाव हार्न सक्छ
– फर्जी निर्वाचकहरू देखा पर्ने जोखिम रहन्छ
अधिकांश राज्यले प्रत्येक निर्वाचनमा एउटै पार्टीलाई जिताउँछन् ।
त्यस कारण राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारहरूले ’स्विङ स्टेट’ भनिने परिणाम अनिश्चित हुने राज्यहरूमा आफ्नो ध्यान केन्द्रित गर्छन् ।
सन् २०२४ को निर्वाचनमा एरिजोना, नोर्थ क्यारलाइना, जोर्जा, मिशिगन, नभाडा, पेन्सिल्भेनिया र विस्कन्सिनसहित सात राज्यमा उम्मेदवारहरूबीच उच्च प्रतिस्पर्धा हुने देखिएको छ ।
यसपालि ती राज्यलाई “ब्याटलग्राउन्ड“ अर्थात् सङ्ग्रामभूमि मानिएको छ । ती राज्यबाट प्राप्त हुने इलेक्टोरल कलेज मतले नै परिणाम छिनोफानो गर्ने आकलन गरिएको छ ।
कुनै उम्मेदवार देशभरि मतदातामाझ सर्वाधिक लोकप्रिय भएर पनि २७० इलेक्टोरल मत ल्याउन नसक्ने सम्भावना रहन्छ ।
खासमा यसअघि भएका छवटा निर्वाचनमध्ये दुइटामा आफ्ना प्रतिद्वन्द्वीको भन्दा कम मत ल्याउने दुई उम्मेदवार राष्ट्रपति बनेका थिए ।
सन् १७८७ मा अमेरिकाको संविधान निर्माण गर्दा देशभरिको ’लोकप्रिय मत’बाट राष्ट्रपति निर्वाचित गर्ने व्यवस्था मिलाउन देशको विशाल आकार र सञ्चारको कठिनाइका कारण व्यावहारिक थिए ।
त्यसैले संविधानका निर्माताहरूले प्रत्येक राज्यले ’इलेक्टर’ छान्न पाउने गरी इलेक्टोरल कलेज बनाए ।
यस्तो प्रणालीमा साना राज्यहरूको मतले ठूलो मान्यता पाउने भएका कारण यो प्रणालीलाई त्यस्ता राज्यहरूले समर्थन गरे ।
अनि दासहरूको बाहुल्य रहेका दक्षिणी राज्यहरूले पनि यो प्रणालीमा समर्थन जनाए ।
अमेरिकामा त्यस बेला दासहरूले मतदानको अधिकार पाएका थिएनन् तर जनगणनामा उनीहरूलाई पनि पाँच जनाबराबर तीन जनाका दरले गणना गरिन्थ्यो । यसमा राज्यको जनसङ्ख्याका आधारमा इलेक्टोरल कलेज मतको सङ्ख्या निर्धारण हुने भएकाले उनीहरू रहने राज्यको प्रभाव बढी हुने अवस्था थियो ।
केही राज्यमा जो विजयी भएको भए पनि इलेक्टरहरूले सिद्धान्ततः आफूलाई मन परेको उम्मेदवारलाई मत दिन पाउँछन् ।
तर व्यवहारमा भने इलेक्टरहरूले आफ्नो राज्यमा बढी लोकप्रिय मत पाउने उम्मेदवारनै समर्थन गर्छन् ।
राज्यमा बढी मत पाउने उम्मेदवारलाई छोडेर अरूलाई मत दिने निर्वाचकलाई “विश्वासघाती“ को सङ्ज्ञा दिइन्छ ।
सन् २०१६ मा निर्वाचक मण्डलका सात जनाले परम्परा मिचेर अर्का उम्मेदवारलाई मत दिएका थिए । तर उनीहरूको मतका कारण अन्तिम परिणाम फेरिएन ।
केही राज्यहरूमा यस्ता “विश्वासघाती” निर्वाचकलाई जरिबाना हुन वा उनीहरूलाई मुद्दा चल्न सक्छ ।
सन् २०२० मा अमेरिकी मतदाताहरूमाझ “फर्जी इलेक्टर“ शब्दावलीले निकै चर्चा पायो । ट्रम्पलाई समर्थन गर्ने रिपब्लिकनहरूले सातवटा राज्यमा चुनावी परिणाम उल्ट्याउन त्यस्ता निर्वाचक खडा गरेका थिए ।
कतिपय स्थानमा त केसम्म भएको थियो भने त्यस्ता इलेक्टरहरू सरकारीजस्तै देखिने फर्जी कागज बनाएर निर्वाचक मण्डलमा चुनिएको व्यक्तिको रूपमा राज्यको संसद् भवनमा डिसेम्बर १४ मा उपस्थित भएका थिए । त्यस दिन निर्वाचक मण्डलमा चुनिएका देशभरिका इलेक्टरहरू राष्ट्रपतिको निर्वाचनमा मत हाल्न भेला भएका थिए ।
त्यसमा संलग्न भएका केहीविरुद्ध मुद्दा चलाइएको थियो र अझै पनि अनुसन्धान चलिरहेको छ ।
यदि दुवै उम्मेदवारले पाएको मत बराबर भयो भने अमेरिकी संसद्को तल्लो सदनमा राष्ट्रपति छान्नका लागि मतदान हुन्छ ।
यस्तो प्रक्रियाबाट अमेरिकामा एक पटक मात्रै राष्ट्रपति निर्वाचित भएका छन् ।
सन् १८२४ मा चार उम्मेदवारहरूमा इलेक्टोरल कलेज मत बाँडिदा कसैको पनि बहुमत आएको थिएन ।
यद्यपि अमेरिकाको राजनीतिमा अहिले दुई पार्टीको प्रभाव बढी छ । त्यसैले यसपालि त्यस्तो अवस्था आउने सम्भावना देखिँदैन । (बीबीसी)