काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभी सवारी चालक तालिम १५औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो।
सोही महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक रावलले संगठनको आवश्यकता अनुसार हेभी सवारी साधनहरू चलाउन तथा परिचालन गर्नको निमित्त तालिम प्रदान गरिएको बताए । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई थप सजग र सतर्क भई आ–आफ्नो कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै असोज २ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए।