काठमाडौं फागुन, २०–
नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले वर्तमान सरकार आफ्नै विवादले ढल्ने दावी गरेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालल कार्यदलका असन्तुष्ट सदस्यसहित माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतको समूहको चेपुवामा परेका छन् । यसको सिधासिधा अशर मुलुकमाथि परेको छ । यीनै सन्दर्भमा हामीले नेपाली कांग्रेसका नेता एवम पूर्व सांसद रामहरि खतिवडासंँग कुराकानी गरेका छौं । कांग्रेस महासमिति बैठक, केन्द्रीय कमिटीमा उत्पन्न विषयमा पनि हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ केही महत्वपूर्ण अंशहरुः
विधानका विषयमा किन रस्साकस्सी ?
यो कुनै रस्साकस्सी हुने विषय होइन । केन्द्रीय समितिमा ८५ सदस्य छन् । ती सदस्यहरु तल्लो तहबाटै निर्वाचित हुँदै आउनु पर्ने कि नपर्ने भन्ने विषयमा विवाद उत्पन्न भयो । सबै नेता गाउँबाटै आउने व्यवस्था भयो भने जनतासाँग नेता घुलमिल हुन सघाउछ । नत्र नेताहरु कार्यकर्ता र जनतालाई वास्ता नगर्ने हुन्छ । अर्को पक्षले ४८ सालदेखि निरन्तर काम गरिरहेको छु । अहिले फेरि किन यस्तो नियम चाहियो भन्नेहरु पनि हुनुभयो । लोकतान्त्रिक पार्टीमा यस्तो विधि हुन्छ । तलै हारियो भने लाजमर्दो हुन्छ भनेर केहीले विरोध गर्नुभयो । सामान्य कुरा हो यो ।
कहिले गाउँ नजाने, गाउँ जाँदा आफ्नालाई उम्मेदवार बनाउने, नाताका मानिसलाई उम्मेदवार बनाउने परिपाटीले बिगारेको हो नी त यो सबै कुराहरु । नीतिको मानिस नहुने नेताको हुने, नेताको नहुने नाताको हुने, नेताको नहुने दाताको हुने अवस्था आयो । ल्यारक्याल लामाले कहिल्यै जनयुद्ध देखेका थिए त ? तर उनी भए माओवादी । टाउको फुटाउने झाँक्रीले, सांसद पड्काउने राज्यलक्ष्मीले । यस्तो अवस्था पनि आयो । कांग्रेसबाट पनि व्यापारी, पैसावालाहरु नेता बनाइए । जनप्रिय भन्दा धनप्रिय हावी भए ।
आरक्षण पनि व्यवस्थित हुनुपर्छ । कोही व्यक्ति एक पटक दलितबाट आएको छ भने अर्कोपटक आउँदा खुलाबाट आउनु पर्छ । आरक्षण एक पटकका लागि हुन्छ । त्यसपछि त उसले आफूलाई अपग्रेड गर्नुपर्छ । हाम्रोमा नेताको नजिक हुने मानिसहरुले आफ्ना नेतालाई राम्रो मानिदिन्छन् । नजिकको घेरा हुन्छ । कुमार र गणेश कार्यकर्ता हुन्छन् । परिश्रम गर्ने र परिक्रमा गर्ने कार्यकर्ता पनि हुन्छन् । परिक्रमा गर्ने गणेश कार्यकर्ताले नेता बिगार्छन् ।
नेविसंघ, किसान संघ जस्ता संगठनहरु १५ वर्षदेखि स्थीर छन् । कांग्रेसले यस्ता विषयमा किन केही गर्दैन ?
तरुण दल ठिकै छ । महिला संघ धेरै सक्रिय छैन । महिलाहरु ३३ प्रतिशत खोज्छन् । दलितले १३ प्रतिशत खोज्छन् । तर उनीहरुले पार्टीमा ३३ प्रतिशत सदस्य महिलाहरुलाई बनाउदैनन् । १३ प्रतिशत दलित सदस्य पनि बनाउँदैनन् । भाग खोज्ने, कर्तव्य पूरा नगर्ने कारण समस्या देखिएको छ । केही भातृसंगठनहरु वर्षौंदेखि क्रियाशील छैनन् । हामीले गरेको शैली अरुले पत्याउन थाले । तर हामी अलमलमा परेका छौं । आफूभन्दा गुट ठूलो मान्न थालिसक्यौं । भुटेका मकै गोजीमा हालेर हामीले राजनीति गरेका थियौं । अहिलेका कार्यकर्ताहरु दाई आज एक पेग लिम न भन्छन् । सरुवा बढुवामा दौडिन्छन् ।
कोइराला परिवार र देउवा गुटबीचको वाकयुद्ध के हो ?
कांग्रेसमा अर्को चर्चाको बिषय अहिले कोइराला परिवार र सभापति देउवाबीचको वाकयुद्ध रहेको छ । त्यसमा पनि डा. शेखर कोइराला र सभापति देउवाले जो सार्वजनिक कार्यक्रममै आरोप प्रत्यारोप गरिरहेका छन, त्यसले कांग्रेस भित्रको द्वन्द्व झन चर्काइरहेको छ । केन्द्रीय सदस्य जस्तो व्यक्तिले पार्टीको सम्मानीत सभापतिका बिरुद्धमा जथाभावी बोल्दै हिंड्न हुँदैन । सभापति देउवाले पनि कुनै कुरा चित्त नबुझे सार्वजनिक कार्यक्रममा आक्रोश पोख्नुभन्दा कोइरालालाई पार्टी कार्यालयमा बोलाएर सोध्दा उचित हुन्छ । यो बिषयमा देउवा र कोइराला दुवै चुकेका छन् ।
सभापति देउवा त वाइडबडी प्रकरणमा जोडिनु भयो नी ?
वाइडबडी लगायतका ठूलाठूला भ्रष्टाचार काण्डमा प्रधानमन्त्री ओलीकै निकटका मन्त्री र नेताहरु मुछिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई जबरजस्ती विवादमा तानिएको हो । सभापति देउवा स्वयंले संसद्मा भ्रष्टाचार छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरिसक्दा पनि उनलाई दोष दिइरहनु अन्याय हुन्छ । ‘वाइडबडी भ्रष्टाचारका विषयमा लेखा समितिलाई नै चुनौती दिएर सरकारले बनाएको अर्को छानबिन कमिटीले के गर्यो ?’ रविन्द्र अधिकारीको निधन भएको दुई दिनपछि प्रधानमन्त्री केपी ओलीले वाइडबडीको छिनोफानो आफै गरिदिए । उनले रविन्द्र अधिकारी दोषी नभएको फैसला गरिदिए । हामीले छानविन र अनुसन्धान मागेका थियौं । उनले त बहस बिना नै फैसला सुनाइदिए ।
काग्रेसको विगत राम्रो छ, वर्तमान किन खराब ?
गुटले प्रभाव पारेको हो । गुट अन्त्य भएर एकै माला बनाउन पर्छ । झिनामसिना कुरामा कसैको बारेमा टिप्पणी गर्नु हुँदैन । अरु कराए भन्दैमा सभापतिले सार्वजनिक रुपमा बोल्न हुँदैन । नेपाली जनताले रोपेको प्रजातान्त्रलाई मलजल गर्ने काम पार्टीले र जनताले पनि गर्नुपर्छ ।
अहिलेको सन्दर्भमा हामीसँग जुन बिचार छ, जुन राष्ट्रियताको भावना छ, त्यो कसैसँग पनि छैन । दुई तिहाईबाट बनेको सरकारले एक वर्षमा के गर्यो ? जनताको संविधान, आरक्षणको कुरा कसको मान्यता हो ? यो कांग्रेसको एजेण्डा हो । आज सबै यो एजेण्डामा आएका छन् ।
धर्मनिरपेक्षता पनि कांग्रेसकै एजेण्डा हो ?
हामीले महासमितिको दस्तावेजलाई ग्रहण गरेर राखेका छौं । म हिजो संविधान बनाउने सदस्यको नाताले हामीले हस्ताक्षर गरेका छौं । हामीले धार्मिक स्वतन्त्रता मागेका हौं । सबैको सहमतिका आधारमा हामीले धर्मनिरपेक्षता मानेका हौं । यो संविधान जारी गर्ने हिम्मत नै कसैले गरेनन् । ओली जीले नै संविधान संशोधन गर्न सक्छन । धर्म, जात, सम्प्रदायका आधारमा राजनीति चल्दैन । मुलुक निर्माण गर्ने कुरामा मिल्नु प र्छ । यो देश कुनै एकको मात्रै जस्तो देखिनु हुँदैन । सबैको देश बनाउनका लागि हामीले यस्तो काम गरेका हौं । सबैको देश बनाउन सबैलाई स्पेस दिइएको मात्रै हो ।
देशको प्रधानमन्त्रीले विवावादित आइएनजिओको कार्यक्रममा जाने, तीन दिन सोल्टी होटलमा सुतेर एक लाख डलरको पुरस्कार थाप्नु भयो । मिलेर बसेको मुलुकलाई क्षतविक्षत गर्न कम्युनिष्टहरु पनि लागे । कांग्रेस त्यस्तो गर्दैन । संसदभित्र कुर्सी भाँच्ने, ब्रिफ केस फुटाउने काम गरेका छै्रनौं । हामीले मर्यादामा रहेर विरोध गरेका छौं ।
सरकार नै हल्लाउछौं झै गरी आन्दोलन गर्नुभयो, अहिले हरायो नी ?
हामी सरकार परिवर्तन गर्न सक्दैनौं । सडकबाट पनि हाम्रो सरकार फेर्ने चाहना छैन । तपाई लेखेर राख्नुस कम्युनिष्ट पार्टी भित्रको बेमेलका कारण पाँच वर्ष यो सरकार टिक्दैनन् । दुई जना त अध्यक्ष छन् । भेनेजुएलाको केसमा एक अध्यक्ष विज्ञप्ति निकाल्ने, अर्कोले शब्द स्लिप भयो भने । हामील गलत कामविरुद्ध मात्रै आन्दोलन गरेका हौं । सरकार ढाल्नका लागि अहिले हामी आन्दोलन गर्दैनौं । भ्रष्टाचार, महंगी बढेको विरोधमा हामी उत्रेका छौं । अख्तियारकै आयुक्तले घुस खाएका छन् । एक गीतांकेले गीत गाउँदा प्रधानमन्त्री अरिंगाल लगाइदिन्छन् । एक पत्रकारले सञ्चारमन्त्रीलाई प्रश्न सोधेका कारण जागिरबाट हाट झिक्नु पर्यो । यहि वाक स्वतन्त्रता ? यहि हो प्रेस स्वतन्त्रता ? होली वाइन पिउन प्रधानमन्त्री तीन दिन त सोल्टी होटलमा सुतेका छन् । मन्त्रिक्वाटरमा बसेर घरभाडा लिन्छन् । यति हुँदा पनि हामी मौन छौं । त र बोल्न नसकेर होइन ।
प्रधानमन्त्री ओलीले रेल ल्याउछौं भन्नु भएको छ, आउला त ?
प्रधानमन्त्री ओलीले पानी जहाज र रेलका कुरा गरेर नेपाली जनतालाई ढाँटीरहेका छन् । एउटा रंगशाला बनाउन नसक्ने प्रधानमन्त्रीले रेल ल्याउँछु भनेर दिएको गफ कसले पत्याउने ? रेल ल्याउन लाग्ने खर्बौंको बजेट उनले कहाँबाट ल्याउँछन् ? कांग्रेस नेता नविन्द्रराज जोशी उद्योग मन्त्री हुंदा आयोजित लगानी सम्मेलनमा दातृ राष्ट्रले कबुल गरेको रकम अहिलेसम्म आएको छैन । भूकम्पकाबेला प्रतिबद्धता जनाएको रकम पनि आएको छैन, यो बेला केरुङबाट काठमाडौं रेल ल्याउन लाग्ने २८ खर्ब भन्दा बढी रकम उनले कसरी जुटाउँछन् ?