सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

शुक्रबार, असोज १८ २०८१

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछानेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

दाङको घोराही उपमहानगरपालिका–१० खैराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ जलौरा बस्ने २० वर्षीय आकाश बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय कोलेन राई, २८ वर्षीय सोनाम तामाङ र सोही उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय अगम राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

काठमाडौंको काठमाडौं महानगरापालिका–१५ चमती डेरा गरी बस्ने १९ वर्षीय नबिन रिजालको कोठाबाट अवैध लागूऔषध गाँजाको धुलो करिब २ सय ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ७ सय ६५ ट्याब्लेट, ट्रामाडोल ५ सय ५० ट्याब्लेट, स्ट्रागन ३ सय ७० ट्याब्लेट, स्पास ३० ट्याब्लेट र नगद २९ हजार ७ सय रूपैयाँ सहित काठमाडौं महानगरपालिका–१५ चमती बस्ने २६ वर्षीय अनिष महर्जन समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सर्लाहीको बागमती नगरपालिका–१२ बागमती पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम तामाङ र १९ वर्षीय निशान दोङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।