बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रदेशमा कर्मचारीको अभाव हुने अवस्था

सोमबार, फाल्गुन १३ २०७५

काठमाडौं फागुन, १३–
प्रदेशस्तरीय लोकसेवा आयोग गठन गरी नयाँ कर्मचारी भर्ना नलिएसम्म प्रदेशमा कर्मचारीको अभाव हुने अवस्था देखिएको छ ।

प्रदेश र स्थानीय तहको तुलनामा अत्यधिक कर्मचारी संघमै समायोजन भएको छ । करिब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९ सय १७ कर्मचारी समायोजन भइसकेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

हालसम्म संघमा १७ हजार २ सय ७९, प्रदेशमा २ हजार ४ सय ४८ र स्थानीय तहमा ३ हजार १ सय ९० कर्मचारी समायोजन भएका छन् ।

करिब ७७ हजारमध्ये २७ हजार ४ सय ६१ जनाले स्थानीय तह र १४ हजार २ सय ६९ जना प्रदेश रोजेका थिए । प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ वटा दरबन्दी रहेको छ ।

स्थानीय तहमा १ हजार निजामतीसहित अहिले करिब १८ हजार कर्मचारी कार्यरत छन् । यसले गर्दा सबै कर्मचारीको समायोजन टुंगिए पनि प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने अवस्था देखिएको हो ।

‘प्रदेश र स्थानीय तहमा प्रशासनिक काम अघि बढाउन थप कर्मचारी भर्ना नगरी हुँदैन । केन्द्रले अहिले कर्मचारी खटाए पनि यो जनशक्तिले प्रदेश र स्थानीय तहको कार्यभार सम्हाल्न सक्दैन’, मन्त्रालयका प्रवक्ता एवं सहसचिव सुरेश अधिकारीले भनेका छन । प्रदेश सरकारले आफ्नो लागि आवश्यक पर्ने कर्मचारी आफैंले भर्ती गर्नुपर्ने भएको छ ।

प्रदेशको निजामती सेवा ऐन तयार भएपछि प्रदेश सरकारलाई प्रदेश लोक सेवा आयोग गठन गर्न बाटो खुल्नेछ ।

सो ऐनको बनाउन सरकारले मन्त्रालयलाई सैद्दान्तिक स्वीकृति प्रदान गरेको छ । प्रदेशमा निजामती सेवा गठन, सञ्चालन, व्यवस्थापन, सेवाको शर्त तथा सुविधासम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड निर्धारण गर्ने गरी संघीय कानून तर्जुमा प्रक्रिया अगाडी बढीरहेको मन्त्रालयले जनाएको छ । ‘दुई महिनाभित्र कानून बनेर आउने छ । त्यसपछि प्रदेश लोकसेवा आयोग गठन कार्य अघि बढाउन सकिनेछ’, प्रवक्ता अधिकारीले भने ।