३ हजार ७ सय ६५ प्रहरी परिचालन गरिने
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरु, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरु, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरु, व्यक्तिहरुको खालि रहेको घर, सरकारी कार्यालय र भीडभाड हुने बजारहरुमा सुरक्षाकर्मीको उपस्थिति रहने बताएका हुन् । उनले एटिएम बुथ, खसीबजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पुजास्थल, बस टिकट काउन्टर, बसपार्क पनि प्रहरीको विशेष निगरानी रहने बताए।
चाडवाडमा लुटपाट, चोरीडकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली, बजारमा वस्तुको कृत्रिम अभाव जस्ता अपराध हुनसक्ने प्रहरीको आकलन छ । यस्ता अपराधिक घटनाहरू न्यूनीकरणका लागि उपत्यकामा तीन हजार सात सय ६५ जना प्रहरी परिचालन गरिने रजौरेले बताए ।
टिकट काउन्टरहरुले महंगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने पनि उनले बताए।