काठमाडौ फागुन, ९–
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरेकाछन् ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरलले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन । उक्त कार्यक्रममा आइएमई जनरलका नायब महाप्रबन्धक शरण रेग्मी तथा मुक्तिनाथका सहायक प्रमुख कार्यकारी अधिकृतद्धय तिल बहादुर गुरुङ तथा गोविन्द बहादुर राउतको उपस्थिती रहेको थियो । सोही अवसरमा मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आइएमई जनरलसंगको सहकार्यबाट दुवै संस्थाका ग्राहकहरुले सेवाहरु सहज र सुलभ रुपमा लिन सक्ने हुनाले आफूलाई असाध्यै खुशी लागेको र निकट भविष्यमानै अन्य सेवाहरुमा पनि क्रमस हातेमालो गर्दै अगाडी बढ्ने मनसाय व्यक्त गरे ।
सोही अवसरमा आईएमई जनरलका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । बैंकका सबै ग्राहकहरुले आफूले बैकिङ सेवा लिएको भएको बैंकको शाखाहरु मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको बताए ।