आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बिहिबार, असोज ३ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मैह्पी करिडोर नजिकै सडकमा ग.१४ प ६४४३ नम्बरको मोटरसाइकल र बा.४ ख८६८५ नम्बरको मिनि ट्रक एकआपसमा ठक्कर खाई बुधबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाग्लुङ, बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय बिनोद खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–४ लठ्ठापुरस्थित सडकमा भे.१२ प ३१९५ नम्बर र भे.१२ प ४८२८ नम्बरका मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा दुवै मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका भे.१२ प ३१९५ नम्बरका मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालिका–४ बैजापुर बस्ने रामशरण थारू र भे.१२ प ४८२८ नम्बरका मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालिका–३ खैरेनी बस्ने २० वर्षीय बसन्त थारूको नर्सिंङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो भने भे.१२ प ३१९५ नम्बरको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका–५ घर भइ हाल बाँके राप्ती सोनारी गाउँपालिका–४ बैजापुर बस्ने ३८ वर्षीय अजय थारूको सोही अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–२ अभिराभस्थित सडकमा पकडीदेखि चाकरचौडातर्फ जाँदै गरेको युपि ५५ एपि ३६२६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–२भरबलिया बस्ने फिरोज मुसलमानको छोरा ८ वर्षीय अलफमस मुसलमानको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।