आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंकहरुको बर्ष दिनको खर्च झण्डै एक खर्ब

आइतबार, भाद्र ३० २०८१

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले पछिल्लो एक बर्षमा झण्डै एक खर्ब रुपैंयाँको हाराहारीमा खर्च गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय, राष्ट्रिय र प्रदेशस्तरीय समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले कर्मचारीहरुको तलब, भत्ता, अन्य र सुविधा र कार्यालय व्यवस्थापन समेतमा गरी कुल एक खर्ब रुपैंयाँको हाराहारीमा खर्च गरेका हुन।

बैंक तथा फाईनान्स कम्पनीह्रुले आव २०८०/०८१ मा गरेको कुल खर्च रकम मध्येमा कर्मचारीहरुको तलव भत्तामा मात्र कुल ६३ अर्र्ब ६६ करोड १० लाख रुपैंयाँ खर्च गरेका छन् । यस बाहेक कार्यालय व्यवस्थापन शिर्षकमा थप ४३ अर्ब १० करोड रुपैंयाँ खर्च गरेका छन् । बैंक तथा फाईनान्स कम्पनीहरुले कर्मचारीहरुको तलब भत्ता र कार्यालय व्यवस्थापनको लागि गरेको यो खर्च अघिल्लो आवको तुलनामा निकै बढी हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आवमा बैंक तथा फाईनान्स कम्पनीह्रुले कर्मचारीहरुको तलब भत्तामा ५५ अर्ब १२ करोड ६० लाख र कार्यालय व्यवस्थापन शिर्षकमा ३८ अर्ब १२ करोड ७० लाख रुपैंयाँ खर्च गरेका थिए।

बैंक तथा फाईनान्स कम्पनीहरुले आव २०८०/०८१ मा गरेको कुल खर्च रकम मध्येमा बाँणिज्य बैंकहरुले मात्र भने उक्त आवमा ९० अर्ब रुपैंैयाँ भन्दा बढी खर्च गरेको देखिएको छ । राष्ट्र बैंकका अनुसार आव २०८०/०८१ सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुले कर्मचारीको तलव भत्तामा ५५ अर्ब ८९ करोड ८० लाख र कार्यालय व्यवस्थापन शिर्षकमा ३७ अर्ब छ करोड २० लाख रुपैंयाँ खर्च गरेका हुन । अघिल्लो आवमा बाँणिज्य बैंकहरुले कर्मचारीहरुको तलव भत्तामा कुल ४७ अर्ब ८१ करोड ६० लाख रुपैंयाँ खर्च गरेका थिए भने कार्यालय व्यवस्थापन शिर्षकमा ३२ अर्ब २६ करोड १० लाख रुपैंयाँ खर्च गरेका थिए।

बिकास बैकहरुले भने आव २०८०/०८१ कर्मचारीहरुको तलव भत्तामा छ अर्ब २० करोड २० लाख रुपैंयाँ खर्च गर्दा कार्यालय व्यवस्थापन शिर्षकमा चार अर्ब ७० करोड ४० लाख रुपैंैयाँ खर्च गरेका छन् । अघिल्लो आवमा भने बिकास बैंकहरुले कर्मचारीहरुको तलव भत्तामा पाँच अर्ब ८३ करोड ८० लाख रुपैंयाँ खर्च गर्दा कार्यालय व्यवस्थापन शिर्षकमा चार अर्ब ६१ करोड ७० लाख रुपैंयाँ खर्च गरेका थिए । फाईनान्स कम्पनीहरुले भने आव २०८०/०८१ मा कर्मचारीहरुको तलव भत्तामा कुल एक अर्ब ५६ करोड २० लाख रुपैंयाँ खर्च गर्दा कार्यालय व्यवस्थापन शिर्षकमा एक अर्ब २४ करोड ४० लाख रुपैंयाँ खर्च गरेका छन् । अघिल्लो आवमा भने फाईनान्स कम्पनीहरुले कर्मचारीहरुको तलव भत्तामा कुल एक अर्ब ४७ करोड २० लाख रुपैंयाँ खर्च गर्दा कार्यालय व्यवस्थापन शिर्षकमा कुल एक अर्ब २४ करोड ९० लाख रुपैंयाँ खर्च गरेका थिए।

राष्ट्र बैंकका अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या भने पछिल्लो अवधिमा छ हजार चार सय ७९ वटा पुगेको छ । जसमध्ये बाँणिज्य बैंकहरुको पाँच हजार ५६, बिकास बैकहरुको एक हजार एक सय ३५ र फाईनान्स कम्पनीहरुको दुई सय ८८ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । अघिल्लो आवमा भने बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या छ हजार चार सय ६१ वटा रहेको थियो । जसमध्ये बाँणिज्य बैंकहरुको पाँच हजार ४९ वटा, बिकास बैकहरुको एक हजार एक सय २८ वटा र फाईनान्स कम्पनीहरुको दुई सय ८४ वटा शाखाहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाई छ।