काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध जारी राख्ने निर्णय गरेको छ ।
आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो । त्यसपछि बसेको माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको हो ।
सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नपर्ने निर्णय गर्नुभएको थियो ।उक्त शब्द असंसदीय नभएको सचिवालयको ठहरसहित सो निर्णय भएको उहाँले बताउनु भएको थियो ।
सो निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले संसदमा अवरोध गरेको थियो ।
माओवादीले संसदको रेकर्डबाट उक्त शब्द नहटाएसम्म संसद अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले राष्ट्रिय दलहरूको बैठक बोलाउनु भएको थियो ।
माओवादीले आजको सदनको बैठक पनि अवरोध गर्ने भएको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठक दलहरुबीच सहमति जुट्न नसक्दा हालसम्म सुरु हुन सकेको छैन ।्