आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

गृहसचिव दुवाडीबाट प्रधान कार्यालयको निरीक्षण तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन

बिहिबार, भाद्र २७ २०८१

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले भाद्र २७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापन लगायत सशस्त्र प्रहरी बल, नेपालद्धारा देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनको समस्या र चूनौतीहरुका बारेमा जानकारी लिए।

कार्यक्रममा गृहसचिव दुवाडीले देश र जनताको खातिर कर्तव्य पालनको शिलशिलामा ज्यान गुमाउनु भएका अमर सशस्त्र प्रहरी कर्मचारीहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गरे । उनले सशस्त्र प्रहरी बल, नेपालले स्थापना भएको छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल भएको र देशमा शान्ति सुरक्षा, सुव्यवस्था तथा अमनचयन कायम गर्न सदैब क्रियाशिल रुपमा कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गर्दै सीमा सुरक्षामा सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत शिक्षा,स् वास्थ्य, खानेपानी तथा पूर्वाधार लगायतका विविध क्षेत्रहरुमा गर्दै आईरहेका कार्य प्रशंसनीय रहेको बताए।

गृहसचिव दुवाडीले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलले राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको उल्लेख गर्दै सदैव जनतालाई शान्ति सुरक्षाको अनुभूती दिलाउन सकेमा मात्र कार्य क्षेत्रमा परिचालित भएको सार्थकता हुने बताए । सशस्त्र प्रहरी बल नेपालमा श्रोतसाधन तथा जनशक्ति व्यवस्थापन, कर्मचारीहरुको सेवा, सुविधा र वृतिविकासमा मन्त्रालयको सदैब साथ रहने बताउनुहुदै राज्यले सुम्पिएको जिम्मेवारीलाई इमान्दारीता र जवाफदेहितासहित थप प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन समेत दिए।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव दुवाडीबाट भएको निर्देशन लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफु परिचालित कार्यक्षेत्रमा ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिए । उनले सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीहरुलाई इमान्दारिता र अनुशासनकासाथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा, सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धार लगायतका विविध जिम्मेवारीहरुमा परिणाममुखी कार्यसम्पादन गर्दै आइरहेको बताए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले राज्यले दिएको प्रमुख जिम्मेवारी मध्ये सीमा सुरक्षामा सीमा स्तम्भको रेखदेख तथा मर्मत सम्भार, विभिन्न प्रकारका प्रभावकारी कार्यक्रमहरुका साथै लागूऔषध तथा राजश्व चुहावट नियन्त्रण कार्यमा उल्लेख्य भुमिका निर्वाह गर्दै आइरहेको र विओपीको लागि सशस्त्र प्रहरी बल, नेपाललाई जग्गा तथा भौतिक संरचनाको आवश्यकता रहेको समेत बताए।

उहाँले संगठन तथा सशस्त्र प्रहरी कर्मचारीहरुको हकहितको लागि आवश्यक छलफल तथा राय सुझाव संकलन गरी कार्य गर्दै आइरहेको उल्लेख गर्दैै सशस्त्र प्रहरीको सम्पुर्ण फौजलाई चेण्ड अफ कमाण्डमा रही सदैव इमान्दारिताकासाथ कार्यसम्पादन गर्न निर्देशन दिए । निरीक्षण भ्रमणकाक्रममा गृहसचिव दुवाडीले प्रधान कार्यालयस्थित सिमा उद्धार तथा अनुसन्धान केन्द्र, केन्द्रिय परिचालन कक्ष, एपिएफ म्युजियम र सशस्त्र प्रहरी बल नेपालद्धारा हाल प्रयोगमा ल्याइरहेका विपद् उद्धार सामाग्रीहरुको अवलोकन गर्नुकासाथै सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी विविध गतिविधिहरुको समेत प्रस्तुतीकरण मार्फत जानकारी लिएका थिए।

कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरी हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,चन्द्र प्रकाश गौतम र वंशिराज दाहाल, नेपाल सरकार गृह मन्त्रालयका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा काठमाडौ स्थित सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति, गणपति र गुल्मपतिहरुको उपस्थिति रहेको थियो।