गणपतिलाल श्रेष्ठ
काठमाडौं माघ–
गणपतिलाल श्रेष्ठ नेपालका सम्पदाहरुको संरक्षणका लागि संघर्ष गरिरहेका जझारु युवा हुन् । उनले सम्पदा बचाऔं अभियान संघर्ष समिति गठन गरेर सो अभियानको नेतृत्व गरिरहेका छन् । वशन्तपुर दरबार क्षेत्रलाई प्रभाव पार्ने गरी पुरानो क्रिष्टल होटल भएको ठाउँमा बनिरहेको अग्लो भवनविरुद्ध लड्ने गणपतिकै समूह हो । धरहरा जस्तै गरी साइडवाकर्स नामक कम्पनीले वशन्तपुर दरबार क्षेत्र पनि खान खाजेको थियो । तर गणपतिको समूहले उनीहरुलाई लखट्यो ।
गणपतिको समूहले वशन्तपुरमा मात्रै होइन, रानीपोखरी, बौद्धनाथ, पशुपतिनाथ लगायत सम्पदामा पनि भइरहेको अतिक्रमण र मौलिकता नष्ट गर्नेहरुविरुद्ध संघर्ष गरिरहेको छ । कतिपय मानिसहरुलाई मौलिकता कसरी नष्ट गरिँदैछ भन्ने विषयमा सम्पदा बचाऔं संघर्ष समितिले मानिसहरुलाई बुझाइरहेको छ । समूहका अगुवा श्रेष्ठ अहिले पशुपतिमा भइरहेको अतिक्रमणविरुद्ध पनि संघर्षरत छन् । प्रस्तुत छ उनीसँगको कुुराकानीको मुख्य अंशहरुः
पशुपतिको हालको अवस्था के हो ?
पशुपतिनाथ मन्दिरको मौलिकता नष्ट गर्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु नै लागि परेका छन् । विश्वरुप मन्दिरको जीर्णोद्वारा हुन सकेको छैन तर विकास कोषका पदाधिकारीहरुलाई सिमेन्टेड सडक नबनाइ भएको छैन । पशुपतिनाथको मन्दिर विश्व सम्पदा सूचीमा परेको सम्पदा हो । तर कोषका पदाधिकारीहरु त्यो सूचीबाट हटे पनि फरक नपर्ने बताउँछन् । उनीहरुको मतमा हिन्दुहरुका कारण पशुपतिनाथ प्रशिद्ध रहेको हो, विश्व सम्पदाको कारण होइन ।
के गर्नु पर्थ्यो, पशुपति क्षेत्र विकास कोषले के गरेको छ ?
पशुपति क्षेत्रमा निर्माण हुने निर्माण सामाग्रीमा चुना सुर्कीको प्रयोग गरेर परम्परागत स्वरुप मा निर्माण गर्नु पर्छ । पशुपति क्षेत्र भित्र कतै पनि आधुनिक निर्माण सामाग्री प्रयोग गर्नु हुँदैन । नयाँ संरचना बनाउन पनि पुरातत्व विभागको अनुमतिपछि मात्रै बनाउनु पर्छ । नयाँ संरचनामा पनि पुरानै मौलिकता कायम हुनुपर्छ । बजेट सक्न आफूखुसी निर्माण गर्नु हुँदैन ।
पुरातत्व विभागले के भनेको छ यो मामिलामा ?
पुरातत्व विभाग, वडा कार्यालयसमेतले त्यसो नगर्न पत्र काट्दा पनि पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुलाई केही फरक परेको छैन । उनीहरु जसरी पनि मौलिकता नष्ट गर्ने अभियानमै लागेका छन् । पुरातत्व विभागले मात्रै होइन, आठ नम्बर वडाले पनि कोषलाई जथाभावि निर्माण नगर्न पत्राचार गरेका छन् । तर कोषले कसैको सुनेको छैन । सर्वोच्च अदालतको आदेश आउँदा पनि यिनीहरुले टेरेका छैनन् ।
सम्पदा बिगार्ने काम पशुपतिनाथमा मात्रै भएको हो ?
सम्पदा बिगार्ने काम पशुपतिनाथमा मात्रै होइन, बौद्धनाथमा पनि भएको छ । बिजुलीको झिलझिले बत्ति बाल्ने, जथाभावी प्वाल पार्ने जस्ता काम गरिएका छन् । वशन्तपुर दरबार क्षेत्रलाई प्रभाव पार्ने गरी अग्लो भवन बनाइएको छ । जसका कारण सो क्षेत्र अहिले ओझेलमा पार्ने काम गरिएको छ । यसमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य पनि लागि परेका छन् । उनले सम्पदाको पक्षमा भन्दा व्यापारीको पक्षमा लागेका छन् । काठमाडौंका सम्पदा सिध्याउन मेयर शाक्यको पनि हात धोएर लागि परेका छन् ।
सम्पदाको काम नाफाखोर ठेकेदारलाई दिन खोज्दा समस्या आएको हो ?
हो । हरेक क्षेत्रको गलत ठेकेदारीको विरोध हुनेगर्छ । संघर्षका दौरान हामीलाई थाहा भयो कि ठेकेदार उत्पादन त सरकारी अधिकारीहरुले नै गरिरहेका छन् । रानीपोखरी र धरहराको दूर्भाग्य ठेकेदारीप्रथाकै कारण भएको हो । धरहराको सवालमा हामीले पहिलो कार्यकालमा केपी ओलीलाई धरहराको भग्नावशेष शिशामा राख्न भनेका थियौं । त्यो अहिले पूरा हुने भएको छ । तर २२ तलाको धरहराबाट काठमाडौंमा हेर्ने चाहिँ के ? यो प्रश्नको जवाफ बनाउन खोज्ने सरकारसँग पनि छैन । किनभने कंक्रिटबाहेक अब काठमाडौं खाल्डोमा लायक केही छैन ।