बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पूर्वप्रधानन्यायाधीशहरू डा. केसीको पक्षमा, केसीका माग पराजित हुँदा आमजनतामा निरासा छाउने चेतवानी

बुधबार, माघ १६ २०७५

काठमाडौं माघ, १६– पूर्वप्रधानन्यायाधीशहरूले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग पराजित हुँदा आमजनतामा निरासा छाउने बताएका छन् । २१ दिनदेखि अनशनरत डा.केसीको जीवनरक्षाको माग गर्दै उनीहरूले ऐक्यबद्धता जनाएका छन् अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ त्रिवि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा अनशनरत डा. केसीलाई भेटी मंगलबार ऐक्यवद्धता जनाएका छन् । राष्ट्रियसभामा पेश गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई यथास्थितिमा रोकेर डा.केसीको माग पूरा गर्न उनले आग्रह गरे । प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको विधेयक अहिले राष्ट्रिय सभामा पेश भएको छ । विधेयकलाई यथास्थितिमा राखेर संवादको ढोका खोल्न उनले आग्रह गरेका छन् ।

श्रेष्ठले चिकित्सा शिक्षा सुधारका लागि उठाइएका मागहरू वैध भएको प्रतिनिधिसभाबाट पारित विधेयकले पुष्टि गरेकोसमेत जिकिर गरे । ‘सत्याग्रहीलाई हेप्ने वा ठट्टा गर्नु हुँदैन । सरकारले संवादको बाटो खोल्नु पर्छ । सत्य एक्लो र निर्धो हुँदैन । सत्यलाई हेप्नु हुँदैन । सत्य पराजित पनि हुँदैन’, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने ।

‘अहिलेको अनशन सरकारसँग भएको सम्झौताको पूर्ण कार्यान्वयनसँग सम्बन्धित छ । सत्यका लागि सत्याग्रह बस्नु भएको महशुश गरिरहेको छु । उहाँका माग र मार्ग पराजित नहोस् । निराशा र कुण्ठा बोकेर जनतालाई बाँच्न नपरोस्’, उनले भने ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा.केसीको अनशनप्रति सरकारले चासो नदिएकोमा चिन्ता व्यक्त गरिन् । ‘सरकार अभिभावक हो । तर अनशनप्रति किन चिन्तित छैन ? कुनै दुर्घटना भए यसले जनमानसमा नराम्रो असर पर्छ’ कार्कीले भनिन् । परिस्थितिको गम्भीरतालाई ध्यान दिन उनले आग्रह गरेकी छन् ।

यसैबीच डा.केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभरका चिकित्सकहरू सोमबार पनि आन्दोलन जारी राखे । शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरूले सामूहिक रिले अनशन जारी राखे ।

नेपाल चिकित्सक संघले मुलुकभर जारी रिले अनशन विथोल्ने प्रयास भए आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

आइसियुमा भर्ना हुन अस्वीकार

२१ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । रगतमा ग्लुकोज र पोटासियमको मात्रा घट्दै गएको छ ।

डा.केसीको अवस्था जटिल हुँदै गएपछि इन्टेन्सिभ केयर युनिट (आइसियु ) सार्नुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । तर आइसियुमा भर्ना हुन नमानेको शिक्षण अस्पतालका आइसियु विशेषज्ञ डा.प्रमेश श्रेष्ठले जनाए । दुई पटक मुटुको एन्जियोग्राम गरेका डा.केसीलाई छाती दुख्ने समस्या बढ्दै गएको छ ।