काठमाडौं माघ, ६–
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियान संचालन गर्ने बताएका छन् ।
आइतबार महानगरीय परिसर, टेकुमा निर्माण गरिएको नागरिक सहायता कक्ष भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले महिला सञ्जाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरूसँग मिलेर त्यस्तो कार्य थाल्ने योजना रहेको बताए ।
महानिरीक्षक खनालले नेपाल प्रहरीले शान्ति सुरक्षालाई सुदृढ बनाउने र समाजको विकासमा पनि योगदान गर्दै लैजाने योजना एकैसाथ अघि बढाउन चाहेको पनि उल्लेख गरे ।
नागरिकको सहायताबिना नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका कुनै पनि दायित्व पूरा गर्न नसक्ने उनको तर्क थियो ।
प्रहरी महानिरीक्षक खनालले नेपालमा प्रहरी र नागरिक समाजबीचको सम्बन्ध विकसित देशहरूको भन्दा सुमधुर रहेको बताए।