शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेकपा एसले प्रमलाई भन्यो– देउवासँग सम्बन्ध राख्नुहोला, परिस्थिति चार महिनापछि तपाईंकै पक्षमा हुन्छ

शुक्रबार, असार २८ २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले चार महिनापश्चात प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्ने ग्यारेन्टी गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा बोल्दै पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई नचिढ्याउन सुझाव दिए।

“आज जस्तो भए पनि नेपाली कांग्रेस सभापतिलाई दोषी कति पनि नदेख्नुहोला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला चार महिनामा परिस्थिति अनुकूल भइहाल्छ, सय प्रतिशत । आजको मितिबाट गनेर बसौँ चार महिनामा परिस्थिति अनुकूल तपाईंकै पक्षमा हुन्छ,” उनले भने ।

उनले यति भनेपछि सदनमा हाँसो गुन्जेको थियो । उनले प्रचण्डलाई अब त मान्छे चिन्नुभयो होला नि भन्दै प्रश्न गरे । उनले आफ्नो दल हिजो, आज र भोलि सधैँ प्रचण्डको साथमा उभिने वचन पनि दिए ।

यता, उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई केपी शर्मा ओलीले पुनः संसद् विघटन गर्ने भन्दै त्यसको साक्षी नबस्नु अनुरोध गरे । साथै, चार महिनापश्चात आजको प्रधानमन्त्री प्रचण्डको हालत जस्तो होला है भन्दै सचेत पनि गराए ।